प्राविधिकलाई बिमाका साथ आर्थिक सहयोग गर्दै हमाल



देशमा आपत्विपद् पर्दा सहयोगका हात बढाउने धेरै हुन्छन्। कोही देश–विदेशबाट रकम संकलन गरेर राहत बाँडी आफूलाई समाजसेवी भनाउन खोज्छन् भने कोही–कोही आफ्नै खल्तीको रकमले राहत प्रदान गर्छन्। कोरोना संक्रमणबाट हुने कोभिड–१९ को महामारीका समयमा धेरै कलाकर्मीले अरूबाट रकम संकलन गरी राहत बाँडेको देखियो भने थोरैले मात्र आफ्नै रकमबाट सहयोग गरे।

तर, कोही–कोही कलाकार यो लहरभन्दा बाहिर बसेर पनि सहयोग गरिरहेका हुन्छन्। अप्ठेरोमा परेकालाई सहयोग पनि गर्ने, प्रचार पनि नगर्ने त्यस्ता कलाकार अत्यन्तै कम हुन्छन्। तीनै कममध्येका एक हुन् अभिनेता राजेश हमाल। हो, कारोना जोखिमलाई न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउनका समयमा अभिनेता हमालले केहीलाई सहयोग गरे, तर उनले यसमा न प्रचार खोजे, न त जस नै लिन खोजे।

आफूले गरेको सहयोगबाट ठूलो प्रभाव नपर्ने बताउने उनै अभिनेता हमालले कोरोनाको कहर, लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका प्राविधिकहरूलाई पनि खुसुक्क सहयोग गर्ने योजना बनाएका छन्। पर्दापछाडि रहेर नेपाली फिल्मजगत्लाई माथि उकास्न सघाउने प्राविधिकका लागि हमालले फरक ढंगले सहयोग गर्न लागेका हुन्। उनले प्राविधिकलाई कारोना बिमा गरिदिन लागेका हुन्।

१ बोरा चामल, केही किलो दाल र नुन अनि केही लिटर तेल। यस प्रकारको चलनचल्तीको राहतले प्राविधिकको घरमा केही दिन चल्हो त बल्ला, तर लामो समयलाई यो सहयोग अपर्याप्त हुन सक्छ। त्योभन्दा बढी उपयोगी हुन सक्छ कोराना बिमा। दैनिक गुजारा चलाउनै कठिन भइरहेको यो जोखिमपूर्ण समयमा केही गरी कोही प्राविधिकलाई कोरोना संक्रमित भइहाले उनीहरूका लागि उपचार गराउन मुस्किल पर्न सक्छ। यसै परिस्थितिलाई ध्यानमा राखेर अभिनेता हमालले प्राविधिकहरूको कोरोना बिमा गराइदिने सोच बनाएका छन्।

यसका लागि उनले प्राविधिकको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघका पदाधिकारीहरूसँग छलफल पनि गरिसकेका छन्। छलपश्चात् हमालले प्राविधिकको कोरोना बिमा गरिदिने भएका छन्। उनले कोरोना बीमा गरिदिनका लागि प्राविधिकको नामावली मागेका छन्। हमालले कोरोना बिमाका साथमा प्राविधिकलाई व्यक्तिगतरूपमा केही रकमसमेत सहयोग गर्ने भएका हुन्।

हमाल प्राविधिकलाई बिनाप्रचार कारोना बिमा र आर्थिक सहयाग गर्न तम्सिएका थिए। तर, प्राविधिक संघका पदाधिकारीले यसलाई बाहिर ल्याएका छन्। हमालले भने कोरोना बिमाका लागि प्रतिव्यक्ति जम्माजम्मी ३ सय रुपियाँमात्र पर्ने भएकाले सय जना प्रँविधिकलाई केही नगद सहयोग गर्ने नेपाल समाचारपत्रलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्