वैदेशिक रोजगारीसँगै विप्रेषण आप्रवाह घट्यो



काठमाडौं, (नेस)
आर्थिक वर्ष २०७६÷७७ मा विप्रेषण आप्रवाहमा शून्य दशमलव ५ प्रतिशतले कमी आई ८७५ अर्ब ३ करोड रुपियाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २० दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२ दशमलव ६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले बढेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा खुद ट्रान्सफर आयमा १ दशमलव ३ प्रतिशतले कमी आई ९८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्