रियल हिरो पलले कालिकोटका बाढीपीडित आर्तका घाउमा लगाए मल्हम



सिनेमामा हिरोको छवि निर्माण गर्ने कलाकार धेरै हुन्छन्। रिल लाइफसँगै रियल लाइफमा हिरो बनेर देखिने कलाकार भने थोरै निस्कन्छन्। चक्लेटी हिरो पल शाह भने रिल लाइफसँगै पछिल्लो समयमा रियल लाइफको हिरोका रूपमा पनि देखिएका छन्।

कोरोना संक्रमणबाट हुने कोभिड–१९ संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सरकारले देशव्यापीरूपमा लगाएको लकडाउनको असहज परिस्थितिबाट आफ्नो क्षेत्रका प्राविधिकहरूलाई दैनिक गुजारा चलाउन समस्या भएपछि आफ्नै खल्तीबाट ५ लाख रुपियाँ बराबरको राहत सामग्री खरिद गरी प्रदान गर्दै उनी रियल लाइफका हिरो कहलिएका हुन्।

धेरैजसोले दाताहरूबाट रकम संकलन गरी राहत बाँडेर आफूलाई समाजसेवी भनाइरहेका बेला आफ्नै खल्तीको रकमबाट प्राविधिकहरुलाई राहत प्रदान गरेर रियल लाइफको समेत हिरो बनेका पलले पछिल्लोपटक भने कालिकोट पुगेर त्यहाँका बाढीपीडित आर्तहरुको घाउमा मल्हम लगाएका छन्। उपत्यकामा निषेधाज्ञा जारी भएको पूर्वसन्ध्यामा कालिकोटतिर लागेका पलले बाटोमा सुस्ताउँदै आफैंले खाना पकाएर खाँदै कालिकोट पुगेर पीडितहरूलाई राहत प्रदान गरेका हुन्।

उनले आफ्नो सामाजिक संस्था पल शाह प्रतिष्ठानबाट हाम्रो टिम नेपालसँगको सहकार्यमा कालिकोटका स्थानीयलाई राहत प्रदान गरेका छन्। वर्षाका कारण कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो गई ठूलो जन–धनको क्षति भएको खबर पाएपछि प्रतिकूल अवस्थाका बाबजुद पलले कालिकोट पुगेर राहत प्रदान गरेका हुन्।

उनको टोलिले स्थानीय ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरालगायतका सामग्री सहयोग प्रदान गरेको छ। कोभिड–१९ सँग जुधिरहेका विपन्न नागरिकले त्यससँगै विपद्को सामना गर्नुपरेपछि सहयोग गर्न जुटको पलले बताए। बाढी–पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पीडा महसुस गरेर सहयोग गर्न पुगेको उनले बताए। पलले कुनै संस्थमार्फत सहयोग गर्दा राहत सही ठाउँमा नपुग्न पनि सक्ने भएकाले राहत प्रदान गर्न आफैं खटिएको बताए।

उनले प्रहरी र स्थानीय अगुवलाई साक्षी राखेर कालिटकोटका बाढीपीडितलाई आफैंले राहत प्रदान गरेका थिए। यसअघि प्राविधिकलाई राहत प्रदान गर्न पनि पल आफैं प्राविधिकहरूको घर–घरमा पुगेका थिए। लकडाउनबाट प्राविधिक समस्यामा परको थाहा पाएपछि शुरूमा ४०/५० प्राविधिकको परिवारलाई सहयोग गर्छु भन्ने सोच बनाएका पलले पछि कुल साढे दुई सय प्राविधिक परिवारका लागि राशन खरिद गरी बहिनीका साथ आफैं प्राविधिकको घर–घरमा गई राहत प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्