दुई करोडको लगानीमा कालिज फार्म



दुर्गाप्रसाद शर्मा, पर्वत
पहिले जंगलमा पाइने ‘कालिज’ प्रजातिको पन्छी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन थालेको छ । कालिजको स्वादका पारखी बढ्न थालेपछि पर्वतको कुस्माका एक जना व्यवसायीले झण्डै दुई करोड रुपियाँकोे लगानीमा ‘रिङ नेक’ जातको कालिज फार्म सञ्चालनमा ल्याएका छन् ।

व्यवसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले पर्वतको कुस्मा नगरपालिका–८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एन्ड रिर्सच सेन्टर’ले व्यावसायिक रुपमा कालिजसहित कडकनाथ, स्थानीय जातका कुखुराको व्यावसायिक पालन गर्न शुरु गरेका हुन् ।

जंगलमा पाइने चीर कालिज नेपालमा संरक्षित पन्छी भएकाले मार्न प्रतिबन्ध छ । तर, अहिले विभिन्न प्रजातिका कालिज व्यावसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ । पौडेल दम्पत्तीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हबका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका ग्राहकलाई लक्षित गरी मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा फर्म स्थापना गरेका छन् ।

कोरोनाको कहरका बीचमा पनि कालिज, लोकल कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोज पौडेलले बताउनुभयो । ‘पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पन्छीको माग अत्याधिक छ,’ उहाँले भन्नुभयो–‘लक डाउनमा पनि मागअनुसार पु¥याउन कठिन भएको छ ।’

सञ्चालक पौडेलका अनुसार फार्ममा गत वर्ष १ सय ५० कालिजका चल्ला तथा लोकल कुखुरा, कडकनाथ, लौकाट, टर्की गरी १ हजार चल्लाबाट शुरुवात गरिएको थियो । राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रवेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस वर्ष फर्म बिस्तार भएको छ ।

यस वर्ष ८ सयभन्दा बढी कालिज पालिएको छ भने ४ हजारभन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ। यी सबैले अण्डा दिएपछि यस वर्षमात्रै ५ हजार कालिज र १५ हजारभन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उहाँको छ । आफैले ह्याचरी मेसिनसमेत राखेर चल्ला उत्पादन गरी बिक्री पनि गर्दै आउनुभएको छ । ‘यो वर्ष माग आउने हो भने सबै गरी ५० हजारसम्म चल्ला उत्पादन गर्न सक्छौं।’

कुस्माबजारमा हार्डवयर व्यवसाय गर्दै आएको यो दम्पत्तीले हार्डवेयरसँगै कृषिमा पनि हात हालेको हो । अहिलेसम्म कुनै सरकारी अनुदानसमेत यो फर्मले लिएको छैन । कृषि फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रवृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा व्यवसाय सञ्चालन गर्ने अठोट यो दम्पत्तीको छ । ‘सरकारले अनुदान देला भनेर व्यवसाय शुरू गरिएको होइन’ सञ्चालक चन्द्रा क्षेत्रीले भन्नुभयो–‘सरकारले अनुदान दियो भने अझै व्यवसायलाई बढाउन सहयोग पुग्छ।’

यो फर्ममा उत्पादित कालिज, कुखुरा पोखरादेखि मुस्ताङसम्म पुगेका छन् । फर्म अगाडि होटल र फ्रेस हाउससमेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटलसमेत सञ्चालनमा छ । फर्ममा उत्पादित कालिज, कडकनाथ, लौकाट, लोकल कुखुरा र मोदीको असला माछासमेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्