प्रेमराजा दम्पतीलाई कोरोना संक्रमण



अमेरिकामा रहँदै आएका लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकाको मेरिल्यान्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका महतले आफू र श्रीमती कोरोनाबाट संक्रमित भएका सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

आफूले ध्यान राख्दाराख्दै दुर्भाग्यवश कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उनले उल्लेख गरेका छन्। कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरू घरको एक–एक कोठामा आइसोलेसनमा बसेको तथा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको प्रेमराजाले जानकारी गराएका छन्।

उनले सबैमा सतर्कता अपनाउन अपिल गर्दै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाबाट कोही पनि अछुतो नरहने बताएका छन्। ‘यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपयाँ कत्ति पनि लाज नमानीकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु। इमानदारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी तथा विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ।’ –उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्