मनीष साम्राज्ञी र आनासँग



प्रेमगीत–३ का अभिनेता मनीष राउतले नायिकाद्वय साम्राज्ञीराज्यलक्ष्मी शाह र आना शर्मासँग अभिनय गर्ने भएका छन्। आफ्नो पहिलो फिल्म प्रेमगीत–३ रिलिज हुन नपाउँदै राउतले अर्को फिल्ममा काम गर्ने अवसर पाएका हुन्। प्रेमगीत–३ मा नायक प्रदीप खड्कासँग काम गरेका मनीषले आगामी फिल्ममा प्रमुख भूमिका निर्वाह गर्ने अवसर पाएका छन्। फिल्मको नाम पक्का गरिसकिएको छैन। तर, तीनै जना कलाकारसँग बिहीबार सम्झौता भएको छ।
सिबड्र्स पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा मनीष, साम्राज्ञी र आनाले एकसाथ अभिनय गर्नेछन्। यो फिल्मलाई यसअघि अमेरिका बोइज निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दै छन्। पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेसनल कलेजबाट निर्देशन विषय अध्ययन गरेका छन्।
‘युवा मनोविज्ञानमा आधारित रहेर बन्ने फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनीषलाई छनोट गरिएको हो। अब एक जना पुरुष कलाकार र एक जना महिला कलाकारको जरुरत छ। हामी अडिसनबाट छान्ने प्रक्रियामा छौं’, निर्देशक पौडेलले भन्छन्– ‘कमिङ एजको कथामा हामीले दुई वर्षदेखि काम गरिरहेका थियौं, अब भने यसले मूर्त रूप लिन लागेको छ। कोरोना महामारीपश्चात् सहज वातावरण बनेपछि हामी सुटिङ फ्लोरमा जानेछौं।’ डाक्टर डेनिमको प्रस्तुतिमा बन्ने फिल्मका निर्माता छत्रजंग पाण्डे र अनुप पौडेल हुन्। सहनिर्माता करण साउद रहनेछन्।

प्रतिक्रिया दिनुहोस्