संक्रमितको सम्पर्कमा आएका १७८ जनाको कन्ट्याक्ट ट्रेसिङ



न्युज अफ नेपाल,भद्रपुर ।

कोरोना संक्रमण देखिएकी प्रहरी चौकी बिर्ताबजारकी महिला प्रहरीको सम्पर्कमा आएका १७८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।ती संक्रमित महिला प्रहरीले धेरैजनासँग सम्पर्क गरेकाले धेरै संख्यामा कन्ट्याक्ट ट्रेसिङ गर्नु परेको हो । उनको सम्पर्कका आएका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , क्वारेन्टाइनमा बस्नेहरु , दूध बेच्ने , किराना , सब्जी पसल, औषधी पसल, बहाल दिने घरधनी, छरछिमेक गरी १७८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताउँनुभयो ।

अझै २०—२५ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्न बाँकी रहेको बताउँदै उनीहरुको पर्सी गरिने जानकारी दिनुभयो । महिला प्रहरीले औषधी किनेकोे बजरंग मेडिकल हल सिल गरिसकिएको छ । प्रहरी चौकी बिर्ताबजारमा कार्यरत २४ वर्षिया ती महिला प्रहरीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै उनका प्रहरी श्रीमान पनि अस्वस्थ्य बनेका थिए ।

काँकडभिट्टामा कार्यरत उनका श्रीमानलाई सोही दिन मेची अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । तर, उनको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । संक्रमित महिला प्रहरी धरानमा उपचाररत रहेकी छन् ।

बाह्रदशी र इलामका संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका सबैको रिपोर्ट नेगेटिभ

बाह्रदशी र इलामका तीनजना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका सबै ११६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । साउन १६ गते संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरी कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । त्यसमा केही राजनीतिकर्मी पनि परेका थिए ।

त्यस दिन बाह्रदशीका संक्रमितहरु नेकपाका नेता र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ६८ , बिर्तामोड आएका इलाममा कार्यरत सशस्त्र प्रहरीको सम्पर्कमा आएका ४८ र क्वारेन्टाइनमा बसेका १७ गरी १३३ जनाको स्वाब संकलन गरेर पठाइएको थियो । त्यसमध्ये कन्ट्याक्ट ट्रेसिङ गरिएको ११६ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन खड्काले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा बसेका १७ जनामध्ये एकजनाको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउँनुभयो । भारतबाट फर्केकी बिर्तामोड ६ की ५८ वर्षिया संक्रमित महिला देवी मावि क्वारेन्टाइनमा बसेकी थिइन् । बाह्रदशी र इलामका तीनजना संक्रमित बिर्तामोडमा आएको चर्चाले निकै चिन्ता थपिएको थियो । संक्रमितको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्