जिल्ला प्रशासन र प्रहरी कार्यालयमै भिडभाड



राम धामी,डडेल्धुरा ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढदै गए पनि डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहु सर्वसधारणको भिडभाड लाग्न थालेको छ ।बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रो पटक लकडाउन थप्ने मनस्थितिमा पुगेको समयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा भने दिनहु भिडभाड बढ्न थालेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि मुख्य सरोकारवाला मानिएका दुबै कार्यालयमा सामान्य रुपमा पनि सामाजिक र भौतिक दुरीको पालना गरिएको पाइएको छैन भने सावधानी बढाउन दुबै कार्यालयले कुनै पहल गरेका छैनन् । मंगलबार दिउसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा जाँदा कार्यालयको हाताभरी सेवाग्रहीहरुको भिडभाड थियो ।

कोही सेवाग्राहीहरु नागरिकता फाँटको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए त कोही मुल ढोकासम्म भुईमै बसेका देखिन्थे तर सामाजिक दुरी भन्ने कतै देखिएको थिएन । पछिल्ला केहि दिन यता जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा समेत सर्वसधारणहरुको भिड लाग्ने गरेको छ ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सेवाग्राहीका लागी न्युनतम मापदण्ड पनि पुरा गरेको पाइएको छैन । कार्यालयमा सेवा लिन आउने व्यक्तिहरुलाई सेनिटाइजर प्रयोग गर्न लगाउने, मास्क अनिवार्य लगाउनु पर्ने र सेवा लिदा सामाजिक दुरी कायम गराउने कुनै पनि संकेतहरु देखिएको छैन ।

कार्यालयले सेवाग्राहीहरुलाई सामाजिक दुरी कायम गरी नराख्दा सेवा लिने ठाउमा अनावश्यक भिडभाड हुने गरेको र सेवा प्रवाह गर्न पनि समस्या भइरहेको जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । ‘पछिल्ला चार/पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहुजसो सेवाग्राहीको यस्तै भिडभाड रहेको छ ।

सामाजिक दुरी कायम गरि सेवा प्रवाह गराउन तर्फ प्रशासनले कुनै चासो देखाएको छ्रैन ।’ स्थानीय मदनसिँह भाटले भने, ‘जिल्ला प्रशासनमा सेवाग्राहीको भिडभाड नियन्त्रण हुन सकेको छैन भने जिल्ला प्रहरी कार्यालयमा पनि बिभिन्न मुद्दाको छलफल गर्न दिनहुँ सयौ मानिसहरु जम्मा हुने गरेका छन ।’

एसएलसीको नतिजा आउने बित्तिक्कै सेवाग्राहीको भिड अझै बढ्न सक्ने स्थानीय अगुवाहरु बताउछन । बिहान १० बजे नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका भागेश्वर गाउँपालिका–३ बोकटाका सञ्जय रानाले भिडभाडका कारण बेलुकी मात्रै नागरिकता प्रमाण पत्र पाएको बताए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सेवाग्राहीका लागि बस्नका लागी बनाएका बेञ्चमा बस्ने ठाँउ नपाएपछि आठ महिनाको दुधे बालक समातेर मुल गेटको भुईंमा बसेका रानाले भने, ‘कारोनाको डर भए पनि नागरिकता बनाउदै प¥यौं ।’अधिकांश व्यक्तिहरु नयाँ नागरिकता लिने र नागरिकताका प्रतिलिपि लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् ।

बजारमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई प्रहरीले कारवाही गर्दै राजस्व संकलन गरिरहेको छ तर जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयभित्रको भिडभाडमा कयौं व्यक्तिहरु मास्क प्रयोग नगरि बसेको पाइएको छ । सेवा प्रवाह गर्ने कर्मचारी पनि विना मास्क सेवा दिईरहेकाले थप जोखिम बढ्ने आशंका थपिएको स्थानीय बताउछन ।

सामाजिक दुरी कायम नगराउने र नगर्नेलाई जिल्ला प्रशासन कार्यालयले संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गर्ने सुचना जारी गरेको छ, तर आफैंले उक्त सूचनाको बर्खिलाप गरेको स्थानीय समाजसेवी जयराज पनेरुले बताए । भिडभाड बढ्दै गएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलले बताए । उनले भिडभाड नियन्त्रण र सावधानी अपनाउनका लागि पहल गरिने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने प्रहरी कँहा मुद्दा पुग्ने बित्तिक्कै दलबलका साथ कार्यालयमा पुग्ने प्रवृतीका कारण भिडभाड बढेको भए पनि गेटभित्र भिड हुन नदिन आवश्यक मानिसहरुलाई मात्रै भित्र जान दिने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्