चिनियाँ प्रायोजक रद्द गर्दै आईपीएल



एजेन्सी ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ईन्डियन प्रिमियर लीग (आईपीएल) बाट चिनियाँ प्रायोजन रद्द गर्ने भएको छ ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आईपीएलको प्रमुख प्रायोजकको रुपमा रहेको चिनियाँ कम्पनी भिभोसँग सम्झौता रद्द गर्न लागिएको उल्लेख गरिएको छ ।

आईपीएल शुरु हुन करिब डेढ महिना बाँकी रहेको समयमा बीसीसीआईले मुख्य प्रायोजक भिभोसँगको सम्झौता तोड्ने निर्णय लिएको छ ।यसअघि भिभो र बीसीसीआईबीच आगामी सन् २०२२ सम्म सम्झौता रहेको थियो । तर पछिल्लो पटक भारत र चीनबीच उत्पन्न तनावका कारण भारतमा चिनियाँ उत्पादनलाई निरुत्साहित गर्ने अभियान चलेको छ ।

त्यसैको प्रभाव अहिले आईपीएलमा पनि परेको छ । चिनियाँ प्रायोजन रद्द गरेसँगै बीसीसीआईले नयाँ मुख्य प्रायोजक पनि खोज्ने तयारी थालेको छ ।सम्झौता अनुरूप भिभोले बीसीसीआईलाई वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ प्रायोजन शुल्क बापत उपलब्ध गराउँदै आएको छ ।

केहि दिनअघि मात्र बसेको आईपीएलको गभर्निङ्ग काउन्सिलको बैठकले भिभोलाई नै मुख्य प्रायोजकको रुपमा अघि बढाउने निर्णय गरेको थियो । तर, सोमबार ८ फ्रेन्चाईज क्लबसँगको बैठकमा अधिकांश क्लब बीसीसीआईको निर्णयकोविरुद्ध देखिएपछि बीसीसीआईले भिभोसँगको सम्झौता रद्द गर्ने निर्णयमा पुगेको बताईएको छ ।

केही दिनमै बीसीसीआईले औपचारिक रुपमा नयाँ प्रायोजकको नाम र भिभोसँगको सम्झौता रद्द गरेको घोषणा गर्ने तयारी गरेको छ । कोरोनाका कारण स्थगित यस संस्करणको आईपीएल आगामी सेप्टेम्बर १९ देखि युएईको तीन शहरमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्