जनताका गुनासा सुन्दै जनप्रतिनिधि : ‘सबल, सक्षम र सुन्दर शारदा बतासे’



मोतीराम तिमल्सिना,काभ्रे ।

‘स्थानीय सरकार संचालन भएको तीन वर्ष पुगिसक्दा समेत पुरानै संरचना अनुसार विद्युत्त महसुल बुझाउन कठिन भएकाले स्थानीय सरकारले भौगोलिक सिमा अनुसार महसुल संकलनको ब्यवस्था मिलाउन अनुरोध गर्दर्छु’–धुलिखेल नगरपालिका वडा नम्वर १० का दिलबहादुर श्रेष्ठले भन्नुभयो–‘जनप्रतिनिधि निर्वाचित भएसँगै धुलिखेल नगरपालिकाले विकासमा फड्को मारेको छ । साविक भन्दा दशौ गुणा धेरै बजेट प्राप्त भएको छ ।

धमाधम पूर्वाधार निर्माण भएका छन् । नागरिकले घर दैलोको सरकार भएको महसुस गरेका छन् ।’ धुलिखेल नगरपालिका वडा नम्वर १० ले आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजन भएको बजेट मार्फत संचालित आयोजनाहरुको प्रगति समिक्षा तथा चालु वर्ष २०७७/२०७८ मा विनियोजन भएका योजनाहरुका बारेमा नागरिकहरुलाई सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएको छ । नागरिकहरुको जिज्ञासाको जवाफ दिदै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुले अनुभुत हुने गरी सेवा प्रारम्भ गरेको बताउनु भयो ।

‘सबै वडाहरु जोड्ने पक्कि सडक निर्माणको थालनी भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘तीन वर्ष भित्र २० किमी सडक पक्कि भएको छ भने ४० किमी ग्राभेल गरी २ सय किमी नयाँ ट्रयाक खोलिएको छ ।’ सडकसँगै अन्य पूर्वाधारहरु निर्माणका लागि धमाधम कार्य भईरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले एक घर एक धारा निर्माण, बालमैत्री नगर, स्वस्थ शहर निर्माण, विद्यालयको पुनर्निमाण र शैक्षिक गुणस्तरसँगै क्याम्पस तहको शिक्षा निशुल्क, कृषिमा योजनाबद्ध ढंगले कार्यक्रम लागु गरी कृषकहरुलाई आर्थिक रुपले समृद्ध बनाउने, पाविधि मार्फत उत्पादन बृद्धी गर्ने कार्य भईरहेको बताउनु भयो । जेष्ठ नागरिकहरुको कोरोना विमा निशुल्क, अपाङ्ग, सिमान्तकृत र दलित जेष्ठ नागरिकहरुलाई विशेष सहयोग गरी नागरिकहरु प्रतिको दायित्व बोध गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

वडा अध्यक्ष पुष्पराज राउतले वडा कार्यालयले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा विभिन्न योजनाहरु संचालन गरी नागरिकहरुको आवश्यकता पुरा गरिररहेको बताउनु भयो । पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीबोध गर्दै वडा कार्यालयले नागरिकहरुको सेवा र सुविधाका लागि कार्य गरिरहेको वडा अध्यक्ष पुष्प राउतले बताउनु भयो ।

मुटुरोगीहरुलाई एम्बुलेस भाडा, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान, सुत्केरी महिलाहरुलाई पोषणका सामाग्री वितरण जस्ता नागरिकहरुको घर दैलोमा सेवा उपलब्ध गराउँदै बालमैत्री वडा घोषणा गरी नगरमै उत्कृष्ट भएको वडा अध्यक्ष राउतले बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख विमलाकुमारी शर्मा चौलागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा सचिव इश्वरप्रसाद सापकोटा लगायतले वडा कार्यालयले गरिरहेका कार्य उत्कृष्ट भएकाले आगामी दिनमा अझै गुणस्तरीय कार्य गर्न सुझाव दिनु भएको थियो ।

वडा कार्यालयले हिजो, आज र भोली नामक पुस्तक प्रकाशन गरी सबै योजनाहरुका बारेमा नागरिकहरुलाई जानकारी गराएको छ । नागरिकहरुले उत्कृष्ट काम गरी उत्कृष्ट वडाका नागरिक बन्ने अवसर जुटाउन जनप्रतिनिधिहरुले गरेका राम्रा काममा साथ दिने र नराम्रा कामको खवरदारी गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु पम्फा बुढाथोकी थापा, बिमला विक, देवराज शाह र इन्द्रकुमार तामाङ लगायतको सहभागिता रहेको थियो । सवल, सक्षम र सुन्दर शारदा बतासे बनाउने अभियानमा आफु नचुकेको वडा अध्यक्ष राउतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्