थाहानगरका एक जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,हेटौंडा ।

थाहा नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहँदै आएका बीरगञ्जका एक २० वर्षीय युवामा कोरोना पुष्टि भएको छ । उनी बीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ घर भएका हुन् । उनी ५ दिनअघि थाहानगर पुगेका थिए । थाहा नगरबाट प्राप्त ७ वटा नमुनामध्ये मंगलबार विहान प्राप्त रिपोर्टअनुसार एक जनामा संक्रमण पाइएको हो । थाहा नगरमा वेल्डिङ काम गर्ने उनमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताउनुभयो ।

हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । उनलाई कर्रा आइसोलेसनमा ल्याइएको चौलागाईंंले बताउनुभयो ।कोरोना भाइरसको प्रकोप फैलिरहेको बेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले अबस्था हेरेर जिल्लालाई सिल गर्न सकिने बताउनुभएको छ ।

प्रजिअ नेपालले छिमेकी जिल्ला बारा र पर्सामा निषेधाज्ञा जारी रहँदाको अबस्थामा कोरोना भाइरस संक्रमण हुने खतरा बढे अबस्था हेरेर हेटौंडासहित जिल्लाका विभिन्न स्थानीय तहसमेत सिल गर्न सकिने बताउनुभएको हो । उहाँले सतर्क र सचेत रहन आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू सतर्क रहेर सुरक्षित रहन सके लकडाउन र सिल गर्नुपर्ने अबस्था नआउने बताउनुभयो ।

सामाजिक दुरी कायम गरी मास्क प्रयोग गरी सुरक्षित रहन प्रजिअ नेपालले मकवानपुरबासीलाई आग्रह गर्नुभयो । छिमेकी राष्ट्र भारतको खुला सिमानाका कारण पर्साको बीरगञ्जलगायत अन्य स्थान र बारा जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । सोही कारण मकवानपुर जिल्ला र हेटौंडा बजार पनि जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्