जातको प्रश्नमा हमाल



ख्यातिप्राप्त अभिनेता राजेश हमालले अब जातको आधारमा हुने विभेदमाथि बहस गर्ने भएका छन्। उनले कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने कार्यक्रम जातको प्रश्नमार्फत जातीय विभेदमाथि बहस गर्ने भएका हुन्।

यो कार्यक्रम १२ भागसम्म चल्ने राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ। समता फाउन्डेसनले शुरू गर्न लागेको यो टक सोमा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन्। आगामी शनिबारदेखि साँझ ६ः३० बजे प्रसारण हुने कार्यक्रम ६ एपिसोडपछि विभेद सहेकासँग भेटेर नै तयार पारिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन्।

पहिलोपटक यस्तो कार्यक्रममार्फत प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए। ‘हाम्रो संस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथामध्ये सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रूर अमानवीय व्यवहार हो’, पत्रकार सम्मेलनमा हमालले भने– ‘यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं। त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ। तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ। यो नै कार्यक्रमको मुख्य उद्देश्य हो।’

समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले जातको आधारमा केही अघि रुकुममा ६ जना युवाको ज्यान लिने गरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरूले जातको प्रश्न शुरू गरेको बताए। ‘नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ। तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन्। परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम शुरू भएको हो’, परियारले भने, ‘रुकुमको घटनामा जुन बर्बरता भयो, जातको जाँतोले मानिस मरिरहेका छन् भनेर स्पष्ट देखायो। त्यसपछाडि यसमा थप बहस र प्रश्नहरू उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो।’ त्यसै गरी विभिन्न ठाउँमा भएका जातीय हिंसालाइ न्यूनीकरण गर्न पनि यस प्रकारका जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको जानकारी गराइयो।

यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उद्देश्यले कार्यक्रम सिर्जना गरेको उनी बताउँछन्। ‘धेरैलाई के लाग्छ भने यो दलितहरूको समस्या हो। उनीहरूले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो। अझ यो गैरदलितको समस्या हो। किनभने यो उनीहरूले गरिरहेका छन्। त्यसैले यो बहस एक तहमा पुर्‍याउनुपर्छ, जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि हामीले केही गर्नुपर्छ भनेर कार्यक्रम शुरुआत गर्‍यौँ।’ –उनले भने। नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्‍याउने राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए।

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्यूनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए। ‘२०५३ सालमा मेरो बुबाले मेरी शेर्पा आमासँग बिहे गर्नुभएको थियो। मेरो आमा शेर्पा भएका कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनुभएन। वर्षौंपश्चात् जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिनुभयो। त्यसै गरी जातीय विभेदमा अहिलेसम्म भएका आन्दोलन कानुनमा मात्र सीमित रहेको हुँदा पनि यस्तो कार्यक्रम आवश्यक रहेको उनले बताए। समाजमा देखेका र भोगेका कुराहरू अबको पुस्ताले भोग्नु नपरोस्, न्यूनीकरण हुँदै जाओस् भन्ने उद्देश्यका लागि यो पहल गरेको डिसीले बताए।

प्रतिक्रिया दिनुहोस्