बेपत्ता युवक मृत अवस्थामा भेटिए



अमृत अर्याल,स्याङ्जा ।

बुलेट बाईक सहित एक महिना देखि बेपत्ता रहेका स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । फेदिखोला गाउँपालिका वडा नम्वर २ भालुपहाड स्थित भिरमा उनको शव भटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो । पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले लाश पहिचान गरेको कणेलको भनाई छ ।

यसअघि आईतवार सिद्धार्थ राजमार्ग भन्दा ५/६ सय मीटर तल भालुपहाडको फेदी स्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गते देखि बुलेट मोटरसाईकल सहित बेपत्ता भएका थिए ।

पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिन देखि बेपत्ता रहेका थिए । हरियो रंगको बुलेट मोटरसाइकलमा नम्बर प्लेट नभएको र हेलमेट भने अर्काे साइडमा भेटिएको प्रहरीको भनाई छ । खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो । पोखरा ५ पस्र्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको संगम स्थलमा रहेको पयर्टकीय क्षेत्र हो भालुपहाड । ठूला, काला पत्थरिला पहाड भएकाले सो पहाडलाई भालुपहाडको नामांकरण गरिएको हो । जुन पहाडको फदीमा माथिबाट सजिलै देख्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्