प्रदेश ५ कोभिड उपचारमा नमुना दिन सफल



  • डा.राजेन्द्र खनाल
    मेडिकल सुपरिटेण्डेण्ट, लुम्बिनी प्रादेशिक अस्पताल

कोरोना संक्रमणका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नेपाल सरकार मातहतको प्रदेश नं ५ को लुम्बिनी प्रादेशिक अस्पतालका ( मेडिकल सुपरिटेण्डेण्ट)डा.राजेन्द्र खनालसँग नेपाल समाचारपत्रका प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार संक्षेप:

नेपालको प्रादेशिक अस्पतालमा कोरोना नियन्त्रणका लागि के कस्तो व्यवस्था गर्नुभएको छ ?
प्रादेशिक अस्पतालमा कोरोना उपचारका लागि छुटै आइसोलेसन अस्पतालका साथै आईसियु समेतको व्यवस्थापन गरेका छौं । जेनरल अस्पतालमा सबै खालका बिरामी आउँछन् । अरु बिरामीले दुःख पाउने अवस्था भएकोले हामीले छुट्टै अस्पताल नै बनाउनु राम्रो हुन्छ भन्ने सोचले कोरोना उपचारका लागि छुट्टै व्यवस्थापन गरेका हौं । बजारको बीचमा रहेको यसअस्पतालबाट यस अवधिमा सफलतापूर्वक ५७जनालाई सुत्केरी गरायौं । यसमध्ये २० वटा सिजरिङ एकै दिन गर्नुपर्यो । यस खालका समस्याहरुलाई हामीले ध्यान नदिएर कोरोनाको

मात्र उपचार गर्ने भनेको भए यति ठूलो संख्या सुत्केरी हुन कहाँ जानु ?
त्यसैले हामीले अस्पतालमा सुत्केरी विभाग छुट्टै बनाएकाछौ । यस अवधिमा नेपाल सरकार तथा प्रदेश सरकारको सल्लाह र सहयोगमा छुट्टै अस्पताल बनाएर व्यवस्थापन गर्‍यौँ । शुरुमा ८ वटा आईसियुबाट कोरोना अस्पताल शुरु गरेका थियौं, अहिले १८ बेड छ । शुरुका दिनमा काम सिक्दै र काम गर्दै गर्‍यौँ । आत्मविश्वास बटुल्दै गएकै कारण जनरल अस्पतालप्रति बिरामीहरुको आत्मविश्वस बढाउन सफल भएका छौं । बिरामीले सम्भव भएसम्म सरकारी अस्पतालमै सेवा लिन खोज्नु स्वाभाविक हो । हामीले यी कुरालाई ध्यानमा राखी काम गरेका छौं । सुत्केरीलाई पनि कोरोना संक्रमण पुष्टि भएमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

बिरामीलाई कस्तो व्यवस्थापन गर्नुभएको छ ?

लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै आईसियु सहितको अस्पताल बनाएर काठमाडौंबाहिर रहेको अस्पतालले विशेष सेवा दिन सफल भएको छ । पहिला पहिला लक्षणविहीन बिरामी पनि अस्पतालमा ल्याइन्थ्यो । शुरुमा अस्पतालमा बिरामी भरिएपछि मात्र अन्यत्र साना अस्पतालमा पठायौं । त्यतिबेला चुनौती लिएर पनि अस्पतालमा राख्थ्यौं, अहिले सरकारले लक्षण देखिएकालाई मात्र अस्पताल भर्ना गर्ने परिपत्र गरेसँगै सोहीअनुरुप काम गरेका छौं । आईसियुमा पनि भेन्टिलेटरका लागि पालोमा राख्नु अर्कै कुरा हो अन्यथा बिरामीलाई सक्दो व्यवस्थापन गरेका छौं । यस्तो अवस्थामा सबैलाई मिलाएर उपचार गर्नु चुनौतीपूर्ण काम हो । तर सक्रिय टीमका कारण यो सफल भएको हो । टीमका हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरेकै कारण यो सम्भव भएको हो । हालसम्म १७ जना कोरोना संक्रमित आईसियुमै राख्नुपर्ने अवस्थाका थिए । उपचारपछि निको भएर घर फर्किसकेका छन् र अहिले थप दुई जना आईसियुमा उपचाररत छन् ।

आईसियुमा आलोपालो, चिकित्सकको कसरी व्यवस्था गर्नुभएको छ ?
आईसियुमा छुट्टै डाक्टर, नर्स उपकरणको व्यवस्था गरिएको छ । नेतृत्व भने म आफैले गर्दै आएको छु । अहिले कोरोनाका बिरामी थपघट भएको अवस्था छ ।

कोरोनाका बिरामीको उपचारमा नेपालका अस्पताल र चिकित्सकले पनि सफल सेवा प्रदान गर्न सक्छन् भन्ने नमुना नै लुम्बिनी प्रादेशिक अस्पतालले प्रस्तुत गरेको हो त ?
हो, नेपालीहरुले पनि उत्कृष्ट काम सफलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने एउटा उदाहरण नेपालले प्रस्तुत गरेको छ र बिरामीका लागि हाम्रै अस्पतालले नमुनारुपी काम गरेर देखायो ।

अन्यत्रका अस्पतालले सफल हुन के–कस्ता सुधार गर्नुपर्छ र व्यवस्थापन कत्तिको खर्चिलो हुन्छ ?
व्यवस्थापन अत्यन्तै खर्चिलो छ । सरकारको टीप्पणी मात्र गर्ने हो भने प्रसस्त ठाउँछ । हाम्रोजस्तो देशमा ठोस निर्णय पाउन पनि निकै कठिन छ । शुरुका दिनमा पिसिआर परीक्षण काठमाडौंको टेकुको एउटा ल्याबमा मात्र हुन्थ्यो, अहिले २९ स्थानमा विस्तार भएको छ । म बेलायत र अमेरिकाका चिकित्सक साथीहरुसँगको सम्पर्कमा रहेर त्यहाँ भएका प्रयोगात्मक विधिका बारेमा पनि जानकारी लिने गर्छु । ती मुलुकमा शुरुका दिनमा विशेषगरी लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने गरेको सुन्थें । तर नेपालमा शुरुमै क्वारेन्टाईनमा आएका जति सबैलाई परीक्षण गर्नुपर्छ भन्ने नीति लिएकै कारण शुरुमा यतिधेरै मानिसमा कोरोना संक्रमण पत्ता लागेको हो । शुरुमै धेरैमा पहिचान भएकै कारण संक्रमण समुदायमा पुगेन, त्यो नेपालको सबैभन्दा राम्रो पक्ष हो ।

पिसिआर गर्दा एउटा व्यक्तिलाई कति खर्च हुन्छ र संक्रमितले सामान्यतया कति दिन अस्पतालमा बिताउनुपर्छ ?
ठ्याक्कै भन्न सकिन्न । आईसियुमा एकैपटक सात जना बिरामी भर्ना भएको समयमा एकै दिनमा २६ वटा पिपिई फूल सेट प्रयोग भयो । एउटा पिपिईको सरदर ३ हजार ८ सय पथ्र्यो । हिसाब गर्दा एकै दिनमा एक लाख खर्च भयो । त्यस्ता पिपिई कति प्रयोग होला ? कोही सुगरका, कोही उच्च रक्तचाप, मुटु, मृर्गौलाका रोगीहरु पनि कोरोना संक्रमित हुन्छन् । उनीहरुलाई आवश्यकताअनुसार समय–समयमा औषधि दिनु र रेखदेख गर्नुपर्ने हुन्छ । कोभिडसँगै निमोनिया जोडिएका बिरामी पनि हुन्छन् । अहिलेसम्म व्यवस्थापन गरिरहेको अवस्था छ । तर यो धेरै भयो भने सरकारले कति व्यवस्थापन गर्नसक्छ म एउटा अस्पतालको चिकित्सकले भन्नसक्ने कुरा होइन । गर्दै र सिक्दै जाँदा प्राविधिक पक्षलाई व्यवस्थापन गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ प्रदेश ५ ले एउटा नमुनारुपी काम गरेर देखाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कतिजनाको समूह छ ?
सबै सक्रिय र जिम्मेवार बहन गर्दै आउँनुभएका ८६ जना प्रत्यक्ष सम्लग्न हुनुहुन्छ । अप्रत्यक्ष रुपमा केन्द्र सरकार, प्रादेशिक सरकारलगायत सम्पूर्ण हुनुहुन्छ । अस्पताल परिवारकै तीन जना संक्रमित पनि हुनुभयो र हाल निको पनि भैसक्यो । शुरुका दिनमा त नयाँ रोग, सबैले सिकेर काम गर्नुपर्ने अवस्थामा धेरै गाह्रो पनि भयो । सबैजनालाई डर थियो, त्यस्तो अवस्थामा आफूले नमुना प्रस्तुत गरेर काम गर्न सक्नुको प्रमुख कारण सामूहिक भावना र सकारात्मक सोच नै हो ।

आम नागरिकले के के कुरामा ध्यान दिनुपर्छ ?
मुख्य गरी घरबाहिर निस्कदा हात, नाक, मुख, आँखा र शरीर पूरा ढाक्ने कपडा लगाउनुपर्छ । साथै भिडभाडमा जानुहुन्न, जानैपर्दा कम्तिमा पनि दुई मिटरको दुरी कायम राख्नुपर्छ । संयमित बन्नुपर्छ, मान्छेलाई त्रसित पार्ने खालका सन्देश दिनुहुन्न । विश्वमा ३ खालका मान्छे छन्, पहिलो कोरोना संक्रमित, दोस्रो सम्भावित संक्रमित र तेस्रोमा रोग लागेर निको भैसकेका मान्छेहरु छन् । त्यसमा नेपालीहरु कुन अवस्थामा छन् ठ्याक्कै भन्न नसके पनि सुरक्षा अपनाउने हो भने प्रतिरोधात्मक क्षमता बढी छ भन्ने लाग्छ । यसको आधार हालसम्म देखिएको अवस्थालाई लिएर आँकलन गरिएको हो । तर प्रतिरोधात्मक क्षमता छ भनेर भिडभाडमा जाने, माक्स नलगाउने, सुरक्षा नअपनाउने हो भने अन्तजस्तै भयावह स्थिति नआउला भन्न सकिन्न ।

केही समयअघि सार्वजनिक भएको रिपोर्टमा आईसियु कक्षमा लगाएका जुत्ताको सोलमा पनि कोरोना भाइरस देखियो भन्ने छ । यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने ?
हामीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड (प्रोटोकल) को पालना गरेका छौं । साथै, नेपाल सरकारको निर्देशनकै पालना गरेका छौं । हामी यस विषयमा सचेत भएर काम गरिरहेका छौं र अरुलाई पनि सुरक्षा अपनाएर मात्र काम गर्न सल्लाह दिन्छौं । सरसफाईमा हामीले विशेष ध्यान दिने गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्