सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर हुन्छ : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उहाँले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने उल्लेख गर्नुभयो ।

राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उहाँले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताउनुभयो ।

प्रदेश प्रमुख सचिव विष्णु नेपालले आप्mनो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा व्यक्त गर्नुभयो । सरकारको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उहाँले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गर्नुभयो । उक्त अवसरमा प्रमुख सचिव नेपाललाई मुख्यमन्त्री गुरुङ, मन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्