दार्चुलामा बाढीपहिरोमा तीन घर बगे



दार्चुला । दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन् । महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन ।

आज बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ । यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको तीनतले घर पनि बाढीपहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ । लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो । यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ । बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ ।

फाईल तस्वीर

प्रतिक्रिया दिनुहोस्