खीर खाँदा ठूलो संख्यामा गाउँले बिरामी परेपछि सम्बन्धित निकायको चासो



कविराज नेपाल,पाल्पा ।

मृत्यु संस्कारमा खीर खाँदा गाउका प्राय सवै विरामी परेपछि त्यसको कारण वारे सम्वन्धित निकायले चासो दिन थालेको छ । आइतबार रामपुर नगरपालिका वडा नं ७ मोहटीमा मानबहादुर सुनारको १३ औँ दिनको पुण्य तिथीमा पकाइएको खीर सहित तरकारी र अचार खाएका आफन्त, छिमेकी, स्थानीय बिरामी परेपछि सामान किनमेल गरेका पसलहरुमा तानसेन नगरपालिकाले अनुगमन गरेको छ भने विरामीहरुको उपचार भैरहेको अस्पतालमा अधिकारीहरु पुगेर विरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन ।

खीर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा हाल सम्म विरामीको संख्या थपिएर ७५ पुगेको छ । विरामी मध्ये ५८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र १७ जनाको रामपुर अस्पतालमा उपचार भएको वताइएको छ । विरामीहरु उपचार पछि क्रमशः ठीक हुन थालेको उपचारमा संलग्न चिकित्सकले वताएका छन ।

उनीहरुले प्रसादको रुपमा खिर, अचार र राज्माको तरकारी खाएका थिए । सुरुमा ६ जनामा टाउको दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएपछि उनीहरु रामपुर अस्पताल भर्ना भएका थिए । विरामी हुनेहरु सबै वडा ७ को मोहोटी र कथान क्षेत्रका रहेका छन् । बिरामी सबैमा एकै किसिमको लक्षण देखिएको छ । उपचाररत विरामी मध्येका एक विरामीले सुरुमा टाउको दुख्ने र पछि झाडा पखाला, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिएको बताएका छन् ।

पितृप्रसाद खादा एउटै गाउका नागरिक नै बरामी परेपछि रामपुर नगरपालिकाले सो कार्यमा सामान लैजाने पसलमा अनुगमन गरेको छ ।
नगरपालिकाले पसल अनुगमन गरि उनीहरुले खरिद गरेका सबै थरिका सामानलाई शिल गरेको छ । ल्याब परिक्षण पछि रिपोर्ट आउदासम्म ति सामान शिल गरिएको छ भने अन्य म्याद नाघेका केही सामान पनि जफत गरि नष्ट गरेको छ ।

रामपुरको बेझाड बजारमा रहेको फ्याम्ली सपिङ्ग सेन्टरबाट पाउडर दुध, प्रतिमा प्रतिक इन्टरप्राइजेजबाट राज्मा, हिमालयन प्रोभिजन स्टोर्सबाट चुक (अमिलो) खरिद गरी लगिएको जानकारीका आधारमा नगरपालिका, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, पत्रकार सहितको टोलिले पसल अनुगमन गरेको हो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्ल, कार्यपालिका सदस्य सावित्रा गौतम, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री टोलीले जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक तथा नगरउपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । रामपुर अस्पतालका डाक्टर कुशल खनालले व्याक्टेरियाको कारण समस्या देखिएको र त्यसका बारेमा थप अनुसन्धान भइरहेको बताउनु भयो ।

यसैवीच खिर खाएर विरामी भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने,जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दिपकराज खरेल लगायतको सुरक्षा टोली अस्पताल पुगेर विरामीहरुको उपचारको अवस्था र स्वास्थ्य स्थितिको सम्वन्धमा जानकारी लिनुका साथै आवश्यक उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्