मालपोतको सेवा स्थानीय तहबाट दिने तयारी,जग्गा प्रशासन सम्बन्धी तालिम सुरु



  • मोतीराम तिमल्सिना,काभ्रे

जग्गा प्रशासन सम्वन्धी तालिम धुलिखेलमा शुरु भएको छ । स्थानीय तहहरुबाटै मालपोत कार्यालय काभ्रेले उपलब्ध गराउने जग्गा प्रशासन सम्वन्धी तालिम १३ वटा स्थानीय तहका ४० कर्मचारीहरुलाई उपलब्ध गराईएको हो । संघीय सरंचरना कार्यान्वयन भई तीन तहका सरकार कार्यान्वयनमा आएको केहि वर्ष पछि मालपोत कार्यालयबाट प्रदान हुने सेवाहरुलाई सरकारले पहिलो चरणमा नमुनाका रुपमा केहि जिल्लाका केहि पालिकाहरुबाट उपलब्ध गराउने गरी तयारी स्वरुप काभ्रेपलाञ्चोक जिल्लाको मालपोत कार्यालयको सेवा क्षेत्र भएका १३ वटा स्थानीय तहका ४० जना कर्मचारीहरुलाई भूमि ब्यवस्थापन तथा अभिलेखका सन्दर्भमा तालिम दिन शुरु गरिएको हो ।

मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले तालिमको शुभारम्भ गर्दै तालिममा सहभागिहरुले भूमि ब्यवस्थापनका बारेमा गहन अध्ययन गरी जानकारी लिएर नागरिकहरुको सेवामा लाग्नु पर्ने बताउनु भयो । जग्गा ब्यवस्थापन ब्यक्तिको सम्पतीको संरक्षण समेत भएकाले त्यसमा हुन सक्ने त्रुटी वा लार्पवाहि तथा अनियमित गतिविधि रोक्न कर्मचारी चनाखो र सजग हुनु पर्ने उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले मालपोत कार्यालयले प्रदान गर्ने सेवा स्थानीय नागरिकहरुकोमा पुग्ने काममा शुरु भएको तालिम प्रभावकारी हुनु पर्ने बताउनु भयो । नागरिकहरुको विश्वास जित्दै मालपोत कार्यालयको सेवालाई झनै प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो । तालिममा भूमि ब्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले सहभागिहरुलाई भूमि ब्यवस्थापनका बारेमा जानकारी गराउनु भएको छ ।

दुई दिन मालपोत सम्वन्धी समग्र विषयमा जानकारी गराउने र ब्यवहारीक रुपमा कार्यालयमै अभ्यास गराउने मालपोत अधिकृत आचार्यले बताउनु भयो । मालपोत कार्यालय काभ्रेका रामभक्त हुमागाईले भूसेवाका बारेमा जानकारी गराउँदै अभ्यासले धेरै कुरा सिक्दै जान सकिने बताउनु भयो ।

भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा अझै केहि स्थानीय तहहरु नियमित संचालनमा कठिनाई ब्यहोरिरहेका छन् । गुणस्तरीय इन्टरनेट, सडक सञ्जाल तथा विद्युत्त सेवा समेत नभएका पालिकाहरुमा अझै यो सेवा संचालनमा कठिनाई छ । केन्द्रिय सर्भरसँग जोडिएर दैनिक नागरिकहरुलाई सेवा दिन उक्त पालिकाहरुबाट कठिनाई छ ।

सरकारले सुविधा सम्पन्न पालिकाहरुमा उक्त सेवा शुरु गर्ने गरी आर्थिक वर्षको २०७७/२०७८ बाट मालपोत कार्यालयहरुबाट प्रदान भईरहेका जग्गा प्रशासन सम्वन्धी केहि सेवाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप भूमि ब्यवस्थापन तथा अभिलेख विभागले २०७७ साउन ६ गते मालपोत कार्यालय काभ्रेलाई पत्र लेख्दै जिल्लाका सबै स्थानीय तहहरुलाई जग्गा प्रशासन सम्वन्धी जानकारी तथा अभिमुखिकरण गराउन स्थानीय तहका कर्मचारीहरुलाई सहभागिताका लागि अनुरोध गरेको थियो ।

जग्गा प्रशासन सम्वन्धी सेवा हस्तान्तरण गर्न कानून तथा कार्यविधिको तर्जुमा अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहबाट प्रवाह हुने जग्गा प्रशासन सम्वन्धी कार्यलाई शुरुवाती चरणबाटै ब्यवस्थित, प्रभावकारी र विवादरहित बनाउन स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई जग्गा प्रशासनका बारेमा जानकारी गराउने र अभिमुखिकरण गराउने कार्य शुरु गरिएको हो ।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भूमि ब्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार भू सेवा केन्द्र संचालन निर्देशिका २०७६ लागु गर्ने भएको छ । भू सेवा केन्द्र स्थापना तथा संचालनका लागि मालपोत नियमावली २०३६ को नियम २३ क र २३ ख बमोजिम चाहिने योग्यता पुगेका तथा भू सेवा केन्द्र संचालन निर्देशिका २०७६ बमोजिम भू सेवा केन्द्र संचालनका लागि चाहिने पूर्वाधार पुरा भउका ब्यक्ति, संस्था तथा स्थानीय सरकारले अनुमति लिनका लागि साउन महिना भर अनलाईन मार्फत निवेदन पेश गर्न अनुरोध गरेको छ । ढिलै भए पनि स्थानीय नागरिकहरुले मालपोत सम्वन्धी सेवा आफ्नै पालिकाबाट गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्