सबै प्रयास विफलपछि पनौती नगरपालिकाले खरिद गर्‍यो जग्गा



मोतीराम तिमल्सिना,काभ्रे ।

पनौती नगरपालिकाले पनौती नगरपालिका साविक वडा नम्वर ५ सिरानचौर हालको वडा नम्वर ७ मा रहेको कित्ता नम्वर १३२ को १७ रोपनी १४ आना २ पैसा जमिन खरिद गरेको छ । सार्वजनिक जग्गा २०३१ सालको नापिको समयमा ब्यक्तिका नाममा दर्ता गरेको फेला परेपछि नगरपालिकाले जग्गा फिर्ताका लागि गरेको सबै प्रयास विफल भए पछि सोहि जग्गा खरिद गरेको हो । निर्माण अधुरो रहेको क्षेत्रिय स्तरको रंगशाला अब प्रदेश स्तरको रुपमा रंगशालाको रुपमा निर्माण सम्पन्न हुनेछ ।

आर्थिक वर्ष २०७७/२०७८ मा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले न्युनतम मुल्यांकन कायम गरे भन्दा कम दरमा नगरपालिकाले उक्त जग्गा खरिद गरेको हो । ‘मालपोत कार्यालयको मुल्यांकनमा उक्त जग्गाको मुल्य ४ करोड ९ लाख ६९ हजार ५ सय रुपैया पर्नेमा नगरपालिकाले ३ करोड ६२ लाख २४ हजार २ सय ३७ रुपैया तिर्ने गरी खरिद गरेको छ’–पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईले भन्नुभयो–‘नगरपालिकाले चालु वर्षका लागि आन्तरिक श्रोतबाट विनियोजन गरेको शहरी जग्गा पूर्वाधार ब्यवस्थापन कार्यक्रमबाट २ करोड र बसपार्क जग्गा ब्यवस्थापन कार्यक्रमबाट वाँकी रकम भुक्तानी गरिएको हो ।’

उक्त रकम सोहि जग्गा खरिदका लागि भुक्तानी गर्न कार्यपालिकाको मंगलबार विहान बसेको बैठकले स्विकृत दिएको थियो । पनौती नगरपालिकाको आठौ नगर सभाबाट जग्गा ब्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईले बताउनु भयो । जग्गा खरिद बापत लाग्ने रजिस्टेसन दस्तुर निशुल्क भए पनि लाभकर बापत १० लाख २४ हजार रुपैया मालपोतमा बुझाईएको छ ।

२०७० सालमा शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०६९/२०७० मा उक्त क्षेत्रमा क्षेत्रिय स्तरको रंगशाला निर्माणका लागि नगरपालिकासँग सहकार्य गरेको थियो । सोहि अवसरमा कित्ता नम्वर १३२ को उक्त क्षेत्रफलको जमिन गंगाप्रसाद कँडेलको नाममा दर्ता भएको देखिए पछि विवाद शुरु भएको थियो । सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता भए पनि भोगचलन हुन सकेको थिएन ।

नगरपालिकाले जग्गा फिर्ताका लागि गरेको अनेक पहल विफल भएसँगै जग्गा खरिद गर्ने निर्णयमा पुगेको थियो । नगरको आठौ सभाले जग्गा ब्यवस्थापन गर्ने निर्णयसँग बजेट समेत ब्यवस्थापन गरे पछि जग्गा खरिद गरिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । जग्गाको क्षेत्रफल भित्र पर्ने सिमानाको माथिल्लो र तल्लो भागको अलग अलग मुल्य कायम गरी खरिद गरिएको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो । नगरपालिका विरुद्ध कँडेल परिवारले २०७१ सालमा मुद्दा दर्ता गरेका थिए ।

नगरपालिकाले भौतिक पूर्वाधारका लागि काम शुरु गरे पछि कँडेल परिवारले जग्गाको स्वामित्व आफ्नो रहेको भन्दै मुद्दामा गएका थिए । नगरपालिकाले पछिल्लो समय उनिहरुको परिवारलाई सिफारिस समेत रोक्का राखेको थियो । मंगलबार नगरपालिकामा डोर झिकाएर उक्त जग्गा खरिद गरिएको हो । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले डोर दस्तुर ५ हजार राजश्व लिएर नगरपालिकाले आवश्यकता महसुस गरे पछि उक्त जग्गा खरिद गर्ने कार्यमा नगरपालिकामा उपस्थित भएको जानकारी दिनु भयो ।

नगरपालिकामा स्व. गंगाप्रसाद कँडेलका दुई श्रीमती नानिगिता कँडेल र गणेशकुमारी कँडेलले नगरपालिकालाई जग्गा विक्री गरेका थिए । नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।

४५ वर्ष पछि उक्त जग्गा नगरपालिकाले आफ्नै नाममा फर्काएको छ । नगर प्रमुख भिम न्यौपानेले उक्त क्षेत्रमा रोकिएका निर्माणका कार्य अब सुचारु हुने बताउनु भयो । पनौतीको ठुलो विवादका रुपमा रहेको उक्त जग्गा ब्यवस्थापन पछि पनौतीले अब बसपार्क र बैकल्पिक मार्गका बारेमा बनाएको योजना कार्यान्वयन गर्ने बताएको छ । कँडेल परिवारका २ जनाको नाममा रहेको जग्गाबाट ५ दाजुभाई र तिनका ३५ सन्तानहरुलाई उक्त जग्गा बापतको रकम भाग लगाईएको छ । जग्गा विक्री गर्ने क्रममा उनिहरुको परिवारका सदस्यहरु सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्