भारतीय चालक अनियन्त्रित : हेटौंडामा काेराेनाकाे जोखिम बढ्दो



न्युज अफ नेपाल,हेटौंडा ।

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न भन्दै सरकारले लागु गरेको लकडाउन १ सय २० दिनपछि सकिएको छ ।लकडाउन सकिए पनि कोरोना संक्रमण भने दिनहुँ बढिरहेकै छ । मकवानपुर प्रवेश गर्ने नाकामा भारतीय सवारीसाधनको कडाइमा खुकुलो पारिएसँगै यहाँ कोरोना संक्रमणको जोखिम बढ्दो देखिएको हो ।

भारतीय नाका हुँदै फलफुल, खाद्यान्न, औषधि, ग्यास, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै हेटौंडामा संक्रमण फैलनसक्ने त्रास बढेको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालबाहक सवारीसाधन प्रवेश गर्छन् ।

ती सवारीमा कम्तिमा तीन जना ओहोरदोहोर गर्दा मकवानपुर प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ । एक चालक, सहचालक र सहयोगी भनेर तीन जना प्रतिसवारी मकवानपुर प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ ।सम्बन्धित डिपोमा सामान झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन ।

सरकारले उनीहरुलाई सुरक्षित राख्न कुनै व्यबस्था नगर्दा भारतबाट नेपाल सामान ढुवानी गर्ने चालकबाट कोरोना सर्ने हो कि भन्ने डर बढेको ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताउनुभयो ।
उहाँका अनुसार खाजा, खाना खान हेटौंडामा ती चालकहरुका लागि पायक ठाउँ हो । करिब बीचतिर पर्ने स्थान भएका कारण पनि यहीं सबैको ध्यान केन्द्रित छ ।

सरकारले उनीहरुलाई खाने, बस्ने र फर्कने नियम नतोकिदिँदा उनीहरु यहाँ कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल छ ।लकडाउन अन्त्य भए पनि मकवानपुरमा भने दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म मकवानपुरमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको कोरोना आइसोलेसन वार्ड हेटौंडा–४ का प्रमुख भोलाप्रसाद चौलागाईंले बताउनुभयो ।

लकडाउन सकिएपछि हेटौंडाबाट नजिक बीरगञ्जमा संक्रमण फैलिएको र त्यसको असर हेटौंडामा समेत पर्ने भन्दै सचेत रहन चौलागाईंले आग्रह गर्नुभएको छ । चौलागाईंले लकडाउन खुला भएपछि मानिसहरु थप सजग नहुँदा संक्रमणको दर बढ्नसक्ने बताउनुभयो ।

मकवानपुर प्रशासनले यस विषयमा समयमा चासो नदिए मकवानपुरमा पनि कोरोनाले भयावह रुप लिनसक्ने उहाँको भनाइ छ । लकडाउनको समयमा मानिसहरु केही सचेत रहे पनि हाल मानिसले फेरि लापरबाही सुरु गरिसकेको भन्दै उहाँले आमनागरिकलाई मास्क तथा पञ्जा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्