श्रीमतीलाई अंश दिनुपर्ने भएपछि श्रीमानले १० लाख डलर आगो लगाए



एजेन्सी ।

क्यानाडाका एकजना ब्यापारीले १० लाख क्यानेडियन डलर आगो लगाएर नष्ट गरेका छन् ।

क्यानाडाको राजधानी ओटावाका बासिन्दा रहेका ब्रुस मककोनभिलले पारपाचुके गरेकी श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि आफूले त्यसो गरेको दाबी गरेका हुन् ।

गत साता अदालतमा दिएका बयान अनुसार उनले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।

सम्बन्धविच्छेद सम्झौताअनुसार पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने अनी आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ । उनले सन् २०१८ मा ओटावा शहरको मेयरको उम्मेद्वारी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्