विपदमा उद्धार गर्न धुलिखेलले दियो सेनालाई सामाग्री



मोतीराम तिमल्सिना,काभ्रे ।

धुलिखेल नगरपालिकाले जिल्ला विपद ब्यवस्थापन समिति मार्फत नेपाली सेनाको विष्णु दल गण धुलिखेललाई विपदमा उद्धार गर्ने गरी उद्धारका सामाग्री उपलब्ध गराएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई उद्धारका सामाग्री हस्तान्तरण गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुवास खड्कालाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

नगरपालिकाले नगरपालिकाको विपद कोष मार्फत ८ लाख रुपैया बराबरका १८ किसिमका सामाग्री उपलब्ध गराएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘उद्धारमा खटिने नेपाली सेनाका लागि आवश्यक सामाग्री हुँदा नागरिकहरुको सहज उद्धार हुने भएकाले नगरपालिकाले उक्त सामाग्री उपलब्ध गराएको हो’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो– ‘खोज तथा उद्दारका लागि यि सामाग्रीहरु उपयुक्त हुन्छन् ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले नगरपालिकाले उपलब्ध गराईएका सामाग्री जिल्लामा नागरिकहरुको खोज तथा उद्धारका लागि नेपाली सेना मार्फत प्रयोग हुने बताउनु भयो । सोहि अवसरमा नेपाली सेनाले विपदमा गर्ने खोज तथा उद्धार सम्वन्धी डेमो प्रर्दशन गरेको थियो ।

नगरपालिकाले उपलब्ध गराएको सामाग्री मार्फत बाढी पहिरो, भुकम्प, आगलागी, अन्य दुर्घटनाको अवस्थामा भत्किएका तथा क्षति पुगेका संरचनाबाट नागरिकहरुलाई सकुशल खोज तथा उद्धार गर्ने गरी जमिन तथा खोच, भिर पाखा, अग्ला घर र पहाडहरुमा समेत जान सक्ने गरी आवश्यक तयारीका लागि प्रयोग हुने विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले बताउनु भयो ।

नगरपालिकाले रेस्क्यु रोप २ थान, पश्निल रोप १२ थान, क्याराविनर स्क्रु टाईप १२ थान, क्याराविनर अटो स्क्रु १२ थान, फिगर ८ क्याराविना ६ थान, चेन पुल्लि ठुला/सानो ३/३ थान, सिट हार्नेस ६ थान, चेष्ट हार्नेस ६ थान, उड कटर १ थान, मेटर कटर १ थान, ट्युव ३ थान, टुचिन ३ थान, क्रम्पस १ थान, प्रोसिक कर्ड १२ थान, हेड ल्याम्पस १२ थान, टर्च लाईट ८ थान, आल्मोनियम भ¥याङ्ग १ थान, किट ब्याग ५ थान उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, शशस्त्र एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान प्रमुख डिएसपी सरोज निरौला, धुलिखेल नगरपालिकाका लेखा अधिकृत धनबहादुर बस्नेत, कार्यक्रम अधिकृत विदुर गौतम, वडा अध्यक्ष विष्णु धिताल, नेपाली सेनाका विभिन्न तहका ब्यक्तित्वहरु, नेपाल प्रहरी र अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

धुलिखेल नगरपालिकाले यस अघि जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहने गरी सिसिटिभी क्यामेरा जडान गरेको थियो भने हिरासत भित्र बस्ने ब्यक्तिहरुका लागि टेलिभिजन र इन्टरनेटको ब्यवस्थापन गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्