दुर्ब्यवहार गरेको भन्दै नगरप्रमुख ओझाद्वारा काँग्रेस नगरसभापति पालबिरुद्ध उजुरी



राम धामी,डडेल्धुरा ।

आफुमाथि बैठकमा दुर्ब्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नेपाली काँग्रेस अमरगढी नगर समितिका सभापति दानबहादुर पालबिरुद्ध प्रहरीमा उजुरी दिएका छन । डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी नगरप्रमुख ओझाले सोही बैठकमा सहभागी सभापति पालले आफुमाथि गाली गलौच र दुब्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

दुबै पक्षलाई बोलाएर छलफलको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा अस्पताल विकास समितिले मंगलबार अस्पताल रोडको आसपासमा रहेका घरधनीहरुसँग छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल चलिरहेका बेला एकाएक अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा आफुले आपत्ती जनाएको सभापति पालले बताए ।

उनले नगरप्रमुख ओझाले अमरगढी नगरपालिका कार्यपालिकाको लेटर प्याड प्रयोग गरेर आफुविरुद्ध उजुरी दिइएको बताए । नगरप्रमुख ओझा र काँग्रेस नगर सभापति पालबीच बैठकमा भनाभन भएको बैठकका सहभागीहरु बताउछन । जिल्ला प्रहरी कार्यालयमा मंगलबारनै लिखित उजुरी दर्ता गरिएको भए पनि बुधबार दुबै पक्षलाई बोलाएर छलफल चलाउने प्रयास प्रहरीले गरेको हो । नगरप्रमुख ओझाको ब्यस्तताका कारण बुधबार दुबैपक्षबीच छलफल हुन नसकेको प्रहरीले जनाएको छ ।

फोटो : दानबहादुर पाल

प्रतिक्रिया दिनुहोस्