चेल्सी एफए कपको फाइनलमा



लन्डन, (एजेन्सी)

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डीबाट भएका दुई ठूला गल्तीको फाइदा उठाएर चेल्सीले एफए कप फाइनलमा स्थान सुरक्षित गरेको छ।

वेम्बलीमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलअन्तरले हराएको हो। योसँगै चेल्सीले अगस्ट १ मा हुने फाइनलमा आर्सेनलसँग भिड्ने तय गरेको छ। आर्सेनलले म्यानचेस्टर सिटीलाई हराएको थियो। युनाइटेडका मेनेजर ओले गनारले सर्जियो रोमेरोलाई भन्दा डेभिडमाथि विश्वास गर्दा हारको सामना गर्नुप¥यो।

स्पेनका अन्तर्राष्ट्रिय गोलकिपरले प्रत्येक हाफमा एक–एक ठूला गल्ती गर्दा चेल्सीलाई दुईवटा गोलको उपहार मिलेको थियो। पहिलो हाफको स्टपेज समयमा ओलिभिएर गिरोउडको प्रहारले गोल भएको थियो। दोस्रो हाफ शुरू भएलगतै मासन माउन्टको २० यार्ड प्रहारमा डेभिड छलिएका थिए। त्योसँगै चेल्सी २–० ले अघि बढेको थियो ।

७४औं मिनेटमा कप्तान हेरी मेगाएरले मार्कोस एलोन्सोको क्रस बचाउने प्रयासमा आफ्नै पोस्टमा गोल गरे। त्यो आत्मघाती गोलसँगै चेल्सी ३–० को सुरक्षित स्थितिमा पुगेको थियो। यद्यपि, ब्रुनो फर्नान्डेजले पेनाल्टीमा एक गोल गरे पनि युनाइटेड खेलमा फर्कन सकेन। यो नतिजापछि युनाइटेडको सबै प्रतिस्पर्धामा १९ खेलको अपराजय यात्रा पनि समाप्त भयो।

चेल्सीका पूर्वखेलाडी तथा मेनेजर फ्रान्क लाम्पार्डका लागि पहिलो सिजन नै राम्रो गएको छ। एफए कप फाइनलमा पुग्नु र प्रिमियर लिगमा तेस्रो स्थानमा रहनु लाम्पार्डका लागि सन्तुष्टिको विषय बनेको छ। उनी अर्को सिजनको च्याम्पियन्स लिगमा पुग्ने नजिक पनि छन्।

तथ्यांक
–चेल्सीको यो एफए कपमा १४औं फाइनल हो। एफए कपमा फाइनल पुग्नेमा यो तेस्रो सर्वाधिक अवसर हो।
–एफए कपमा आर्सेनल २१ पटक र म्यानचेस्टर युनाइटेड २० पटक फाइनलमा पुगेका छन् ।
–म्यानचेस्टर युनाइटेड चेल्सीसँग ६ पटक एफए कपबाट बाहिरिएको छ।
–चेल्सीका लागि गोल गरेका मासन माउन्ट वेम्बलीमा गोल गर्ने जोन टेरी (२०१५ मा) पछि पहिलो इंग्लिस खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्