पाल्पा जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुँदै



न्युज अफ नेपाल,पाल्पा ।

नेपाल सरकारले गत वर्ष थप गरेको प्रहरी दरबन्दी अनुसार पाल्पा जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । यी प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने भएका हुन ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नयाँ प्रत्येक प्रहरीचौकीमा १५–१५ जनाको दरबन्दी रहेको छ ।

नेपाल सरकारले गत वर्ष असोज ७ गते पाल्पामा प्रहरीचौकीका लागि प्रहरी दरबन्दी स्वीकृत गरेको थियो । नया स्थापना हुने चौकीका लागि केही स्थानीय तहले भवनको व्यवस्था गरिसकेका छन भने केहीमा प्रहरीचौकीका लागि भवनको खोजी भइरहको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामपुर इलाका प्रहरीचौकी, पूर्वखोला इलाका प्रहरीचौकी र मुझुङ इलाका प्रहरीचौकी, केलादी, रुप्से र जप्कादी,सर्देवा,बल्ढेगढी हार्थोक, अर्गली, बर्तुङ, प्रभास, दोभान, आर्यभञ्याङ, सराई माथागढी, ताहु, राम्दी, हुँगी, रानीमहल, भुसालडाँडामा प्रहरी चौकी छन भने प्रहरीले अस्थायी प्रहरीचौकीबाट नागरिकलाई सेवा प्रदान गरेको छ । बसपार्क, भैरवमन्दिर र रिडीबाट जनताले पाल्पा प्रहरीको सेवा पाउँछन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी प्रशासनमा दैनिक मुद्दाका चाप बढ्दो छ । दैनिक काम व्यवस्थापनका गर्न जनशक्तिको अभाव हुँदा प्रहरीलाई समस्या हुने गरेको छ । जिल्लाका अधिकांश प्रहरीचौकीमा सुविधासम्पन्न यातायातका साधनको अभाव छ । शान्ति सुरक्षा कार्यक्रम गर्न सुविधासम्पन्न यातायातका साधनका अभावमा पैदल नै पुग्नुपर्ने हुँदा थप समस्या हुने गरेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्