न्युज अफ नेपाल, हेटौंडा ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने गृह प्रशासनले चेतावनी दिएको छ । कोरोना संक्रमणको खतरा रहेको र हाल लकडाउन पूर्णरुपमा नखुलेर व्यबस्थितमात्र गरिएको भन्दै सरकारले ‘जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्यरुपमा मास्क लगाउन, एकअर्काबीच कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्न’ भनेको छ ।
यही तथ्यलाई मनन् गर्दै कोरोना महामारीका कारण स्वास्थ्य मन्त्रालयले ‘भिडभाड नगर्न र भिडमा नजान’ सार्वजनिकरुपमा आग्रह गर्दै आएको छ ।भिड नियन्त्रणका लागि प्रहरी तैनाथ पनि गरिएका छन् । तर, हेटौंडाका प्रहरी पछिल्लो समय भिडको साक्षी बनेर बसिरहेको छ ।
नियन्त्रणमा लिऔं त प्रधानमन्त्रीको समर्थनमा गरिएको प्रदर्शन, नलिऔं त भिड रोक्न सरकारले नै दिएको निर्देशन अवज्ञा हुने ।सोमबार हेटौंडा बजारमा प्रदर्शन गरिरहेका युवा प्रधानमन्त्रीको समर्थनमा थिए । पार्टीभित्र राजीनामाको दबाद बढेपछि प्रम केपी ओली समर्थक हेटौंडा बजारका विभिन्न ठाउँका सडकमा उत्रिएका थिए । जबकि, महामारीकै कारण यसरी भिडभाड नगर्न सरकारले नै भनिरहेको छ ।
सोमबार र मंगलबार भएका प्रदर्शनका सहभागीले सामाजिक दुरी कायम गरेनन् । सरकारले एकातर्फ २५ जनाभन्दा बढीलाई एकैठाउँमा भेला नहुन भनेको छ भने अर्कोतिर सरकारकै समर्थनमा त्यो भन्दा बढीको भिड देखिन थालेको छ । यसले गर्दा प्रहरीलाई अप्ठ्यारो परेको त छ नै, संक्रमणको जोखिमसमेत बढाइरहेको छ ।
विरोध र समर्थनमा शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाइने अधिकार संविधानले सुनिश्चित गरेको छ । तर, हाल यसरी प्रदर्शन गर्ने समय अनुकूल हो कि होइन भन्नेतर्फ सरकारकै नेतृत्व गरिरहेका पार्टी कार्यकर्ताले हेक्का राखेको पाइँदैन । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी विरोध कार्यक्रममा नियमित खटिँदै आउनुभएको छ ।
जारी लकडाउन अवधिभर विरोधका कम्तिमा २५/३० वटा कार्यक्रम भएको उहाँले बताउनुभयो ।सोमबार प्रधानमन्त्रीको समर्थनमा भएको कार्यक्रममा पार्टीका सयौं कार्यकर्ताको उपस्थिति रहेको उहाँले बताउनुभयो । रुकुमका नवराज बिकको घटनालाई लिएर हेटौंडामा १५ वटासम्म कार्यक्रम भएको भण्डारी बताउनुह्न्छ ।
सुष्मिता केसी हत्याकाण्डको विषयलाई लिएर सात वटासम्म कार्यक्रम भएको उहाँले बताउनुभयो ।मंगलबार पूर्वमाओबादी नेता÷कार्यकर्ताले नेकपा मकवानपुर पार्टी कार्यालय घेराउ गर्दा पनि खासै सामाजिक दुरी कायम नगरेको उहाँले दाबी गर्नुभयो । लकडाउन अवधिभर स्वतन्त्र युवाले गरेको सरकार विरोध प्रदर्शन र अन्य केही कार्यक्रममा मात्र सामाजिक दुरी कायम भएको प्रनि भण्डारीले जानकारी गराउनुभयो ।
भिड नियन्त्रणमा चुके शान्तिसुरक्षा कायम गर्न नसकेको अपजस प्रहरीले मात्र खेप्नुपर्दैन, सरकारकै आलोचना हुन्छ । यही कारण प्रहरीले भिड नियन्त्रणलाई प्राथमिकता दिएर टोली खटाउने गरेको छ ।‘शान्तिपूर्णरुपमा गरिने प्रदर्शनले खासै समस्या नहुन सक्छ । तर, भिड सधैं शान्त हुन्छ भन्ने हँुदैन । कुनै बेला अराजक बन्नसक्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकले भन्नुभयो ।
त्यस्तो बेला प्रहरीले बल प्रयोग गर्नुको विकल्प रहँदैन । ‘सरकारकै समर्थनमा उत्रने भन्दैमा बल प्रयोग नहुने भन्ने हुन्न,’ पाठकले भन्नुभयो–कुनै बेला विरोधमा उत्रिएको भिडले अराजक रुप लिनसक्छ । त्यसलाई मध्यनजर गर्दै हामी कानुनको अधिनमा रहेर कारबाही गर्नेगर्छौं,’ पाठकले स्पष्ट पार्नुभयो ।











प्रतिक्रिया