राम धामी,डडेल्धुरा ।
बर्षौदेखि खानेपानीको चरम अभावका कारण टाढाको खोलाबाट दुषित पानी भरेर खान बाध्य परशुराम नगरपालिका–३ का विकट बस्तीहरु कालिढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाँउका एक सय १६ परिवार उपभोक्ताहरुले घरघरमै धारासहित शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले गत आर्थिक बर्षदेखि कार्यान्वयन गरिरहेको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी आयोजनाले बस्तीमा पानी पुगाएपछि खानेपानीका लागि घण्टौ हिडनुपर्ने बाध्यता हटने स्थानीयमा आशा पलाएको छ ।
कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी आयोजना मार्फत ६ किलोमिटरको दुरीमा रहेको कालापातल खोलाबाट चारओटै बस्तीसम्म खानेपानी पुगेपछि उपभोक्ताहरु उत्साहित भएका छन । खानेपानी योजना मागगर्दा नजिकै मुहान नभएकाले चार बस्ती सिमोटेर वृहत खानेपानी योजना निर्माण कार्य शुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयमार्फत तीन करोड ४८ लाख बजेट बिनियोजन भएपछि गतआर्थिक बर्षदेखि खानेपानी योजना निर्माण कार्य शुरु भएको र हालको लकडाउन अवधीमा पाईपलाईन निर्माण कार्य सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले बताए ।
उनले लकडाउनको अवधीमा समेत दु्रत गतिमा निर्माण कार्य सुचारु गरिएकाले अगामी आर्थिक बर्षसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ९० प्रतिसत भौतिक प्रगती हासिल भईसकेको जानकारी दिए ।
मुहानदेखि बस्तीसम्म खानेपानी पुगाउन निकै चुनौतीपुर्ण भए पनि शिर्षखोलामा रोपवे क्रसिङ्ग गरेर खानेपानी बस्तीसम्म पुगाउन सम्भव भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराका इन्जीनियर गोविन्द देवकोटाले जानकारी दिए । खानेपानी योजनाका अधिकांस संरचनाहरु निर्माण कार्यसम्पन्न भईसकेको छ भने एकघर एक धारा वितरण गरिएको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी योजना उपभोक्ता समितिले जनाएको छ ।
समितिले अत्यान्तै विकट बस्तीमा पुगेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियरहरुले अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केहि समय अघिनै योजना सम्पन्न हुने चरणमा पुगिसकेको बताएका छन ।बस्तीमा खानेपानी पुगिसकेपछि उत्साहित स्थानीय बासिन्दाहरुले अहोरात्र श्रमदान गरेर भएपनि अगामी दशैसम्म खानेपानी योजना सम्पन्न गरिसक्ने जनाएका छन ।
डडेल्धुरा जिल्लाका बिभिन्न विकट बस्तीहरुमा यसबर्ष खानेपानी योजनाहरु सम्पन्न भई एकहजार बढि घरधुरी बासिन्दाहरुले शुद्ध खानेपानी उपभोग गर्न पाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ । खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राई गाँउमा समेत चालु आर्थिक बर्षमा बस्तीसम्म खानेपानी पुगिसकेको कार्यालयले जनाएको छ ।
खानेपानीको चरम अभावका कारण बिहानै भाडाकुँडा बोकेर दिनभर पानी भर्ने काममा खटिनु पर्ने बाध्यता रहेको नवदुर्गा गाँउपालिका–४ को काकाकुल दलित बस्तीमा समेत चालु आर्थिक बर्षमै खानेपानी योजना निर्माणको काम सम्पन्न गर्नेगरि काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराका डिभिजन प्रमुख रबिन श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया