छुटेका पर्यटकीय क्षेत्रको नक्सांकनमा जुट्यो गण्डकी प्रदेश



मिला दरै,तनहुँ ।

गत वर्ष तयार गरिएका पर्यटकीय गन्तव्य स्थलको पहिचान तथा प्रवद्र्धनका लागि गण्डकी प्रदेश जुटेको छ । प्रदेश अन्तर्गतका कुनै पनि पर्यटकीय गन्तव्य छुट्न गएको खण्डमा समावेश गराउने उद्देश्यका साथ पदमार्ग खोजी तथा नक्शाङ्कन गरिएको छ । प्रदेशले गण्डकी प्रदेश पर्यटन गुरुयोजना निर्माण जिल्ला स्तरीय दोस्रो चरणको गोष्ठी तनहुँमा गरेको छ ।

तनहुँ लगायत लमजुङ, गोरखा, मनाङ र नवलपुरको पर्यटकीय गन्तव्यको पहिचान र छुटेका स्थललाई पदमार्गमार्फत् जोड्न गोष्ठी गरिएको गण्डकी प्रदेशका अधिकृत जगनिवेश भण्डारीले जानकारी दिनुभयो । स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा विगतमा गरिएका प्रदेश पर्यटन गुरुयोजना निर्माणमा छुटेका गन्तव्यलाई समेट्ने उद्देश्यले गोष्ठी गरिएको भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटन विकासका लागि ‘प्रदेश पर्यटन गुरुयोजना’ निर्माण गर्नु यस कार्यको मुख्य उद्देश्य हो । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा स्थानीय तहका प्रमुखहरुलाई विशेष जानकारी हुने भएकाले पनि नयाँ गन्तव्यलाई नक्सामा जोडेर समावेश गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पदमार्ग पहिचान र नक्सांकन गरिएको उहाँको भनाई छ ।

प्रदेशको पर्यटन विकासको विद्यमान अवस्था, प्रमुख समस्या, अवसर तथा चुनौतीहरुको विश्लेषण गर्न, गण्डकी प्रदेशमा पर्यटन विकास र व्यवस्थापनका विभिन्न आयामहरुमा सुधारका लागि २५ वर्षे रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाका सहितको प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्ने उद्देश्य रहेको जनाएको छ ।

प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रमाणीकरण तथा नक्साङ्कन, उपलब्ध पर्यटकीय पूर्वाधार तथा सेवा सुविधाहरुको अध्ययन तथा विश्लेषण, गन्तव्यहरु बिचको अन्तरसम्बन्धको अध्ययन तथा विश्लेषण गर्नका लागि गोष्ठी गरिएको हो । पर्यटन पूर्वाधार तथा सेवाहरु (पहुँच, बसोबास, पर्यटकीय सुविधा, आकर्षण तथा गतविधि)को अवस्थाहरु बरे अध्ययन तथा विश्लेषण गरिने बताइएको छ ।

त्यस्तै पर्यटन क्षेत्रमा कार्यरत तथा उपलब्ध जनशक्ति सर्वेक्षण, आवश्यक जनशक्ति पहिचान, जनशक्ति व्यवस्थापन तथा सीप विकास सम्बन्धी रणनीति तथा कार्यक्रम तयार गर्न सहज हुने बताइएको छ । पर्यटन (आन्तरिक तथा बाह्य) को अध्ययन तथा स्थिति विश्लेषण, पर्यटकीय वस्तु तथा उपजको प्याकेजिङ तथा स्थिति विश्लेषण गर्ने योजना सहित कार्यक्रम गरिएको हो ।

पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा सम्भावित पदमार्गहरुको पहिचान तथा नक्सांकन, पर्यटन प्रवद्र्धनमा तीन तहगत सरकार (संघ, प्रदेश र स्थानीय निकाय) तथा नीजि क्षेत्रको भूमिका तथा ब्राण्डिङ योजना सहित प्रदेश अगाडि बढेको भण्डारीले बताउनुभयो । टिम लिडर योगेश पूर्ण सिंहले पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा अन्य सम्भावित पदमार्गहरुको पहिचान तथा नक्सांकन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा गोष्ठीमा पाँच जिल्लाको पर्यटन गुरुयोजना निर्माणका सम्बन्धमा छलफल र योजना निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्