प्रदेशबाट झोला र किताब विस्थापित गरिने : मन्त्री घिमिरे



विराटनगर । प्रदेश नं. १ का आधारभूत विद्यालयहरुमा स्थानीय कला, संस्कृति, ज्ञान, सीप, प्रविधि, पेशा तथा व्यवसाय विषयवस्तु समेट्ने गरी नमूना स्थानीय पाठ्यक्रम मस्यौदा टालीले प्रतिवेदन आज हस्तान्तरण गरेको छ । अशोककुमार कालाखेतीको संयोजकत्वमा गठन गरिएको टोलीले मस्यौदाको प्रतिवेदन आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो ।

पाठ्यक्रमको मौजुदामा आधारभूत तहको कक्षा एकदेखि तीन कक्षासम्म स्थानीय पाठ्यक्रम समावेश गरी साप्ताहिक पाँच पाठ्यक्रमको दरले वार्षिक १६० कार्यघण्टाको मातृभाषिक, सीप, स्थानीय विषयवस्तु समावेश गरिएको छ । कक्षा चारदेखि आठसम्म साप्ताहिक चारवटा पाठ्यक्रमका दरले वार्षिक १२८ कार्यघण्टामा मातृ भाषा र स्थानीय विषय समावेश गरिएको टोलीका संयोजक कालाखेतीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री घिमिरेलाई डिजिटल प्रविधिको माध्यमबाट स्वास्थ्य, शिक्षा, अनुसन्धान, रोजगारी र सुरक्षामा पहुँच पु¥याउन पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन डा विजुकुमार थपलियाको संयोजकमा गठन गरिएको डिजिटल प्रविधि विकास टोलीले पनि मस्यौदा प्रतिवेदन बुझाएको छ । डिजिटल प्रविधिको माध्यमबाट प्रदेशको सरकारी कामकाजमा सहज पुग्नुका साथै युवालाई रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन सहयोग पुग्ने संयोजक थपलियाले बताउनुभयो ।

मन्त्री घिमिरेले दुबै प्रतिवेदन ग्रहण गर्दै प्रदेशका विद्यार्थीहरुवाट झोला र किताब विस्थापित गर्न प्रविधिमैत्रीको कार्य शुरु गरिएको र प्रदेशका पाँच हजार विद्यालयमा डिजिटल प्रविधि पु¥याउने दाबी गर्नुभयो । उहाँले सूचना प्रविधिको पहँुच प्रदेशका सबै क्षेत्रमा पु¥याउने बताउँदै यसवाट रोजगारी सिर्जना र नागरिकलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्