सल्यानमा कैदीबन्दीहरुले कारागार भित्रै नाराबाजी गरेपछि छानबिन समिती गठन



सरिता चलाउने,सल्यान ।

जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुले कारागार भित्रै आन्दोलन गरेका छन ।कैदीबन्दीहरुले बुधबार बिहान ४ बजेदेखी नाराबाजी गरेर आन्दोलन थालेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले कारागार पुगेर अवस्था अनुगमन गरेकोे जानकारी दिनुभयो । अनुगमन पछि कारागार सल्यान बाट ५ जना कैदी बन्दीहरुलाइ तुलसीपुर कारागार सरुवा गर्न लागेको विषयमा विरोध गर्दै आन्दोलन शुरु भएको विषय बाहिर आएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनुभयो ।

यस्तैै कैदीबन्दीहरुले खरिद गर्न लगाएको सामाग्रीको मुल्य महँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेको लगायतका समस्या समेत उठान गरेको पाइएकाले यस विषयमा छानबिन गर्न छानबिन समिती गठन गरेको बताउनुभयो ।

नाराबाजी गर्दै आन्दोलन गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको नेतृत्वमा तीन सदस्यीय छानबिन समिती गठन भएको छ । छानबिन समितीले घटनाको बारेमा प्रतिवेदन तयार पारेर १५ दिन भित्र प्रशासन कार्यालयमा पेश गर्ने र त्यसपछि अवस्था अनुसारको आवश्यक प्रकृया अगाडी बढाउने उहाँले जानकारी दिनुभयो ।

कारागारका प्रमुख जेलर बल बहादुर केसीले शान्ती सुरक्षाको सवाल भएका कारण अहिले सरुवाको प्रकृया अगाडी बढाएको समयमा जान नचाहने समुहले आन्दोलन गरेको प्रतिकृया दिनुभयो ।

उहाँले कारागारमा क्षमता भन्दा बढी कैदी भएका कारण जघन्य अपराधको सजाय भोगी रहेकाहरुमध्ये ५जनालाइ तुलसीपुर सरुवा गर्न भनेर कारागार व्यवस्थापन समिती संग अनुमती माग्ने प्रकृया चली रहँदा कैदीले एक्कासी आन्दोलन थालेको बताउनुभयो ।

उहाँले विरामी परेको समयमा कारागारबाट आकस्मिक उपचार गर्नभनि बाहिर लिन सकिने अवस्था भएपनि अन्य समयमा विभागको अनुमति बिना बाहिर निकाल्न नमिल्ने भएको जानकारी दिनुभयो । हाल जिल्ला कारागार सल्यानमा १ सय १३ जना रहेका छन,उहाँले भन्नुभयो ति मध्ये ९३ जना पुरुष, १७ जना महिला र ३ नाबालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्