बन उपभोक्ता समिति नै काठ तस्करीमा संलग्न



अमृत अर्याल,स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारस्थित एक सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारी सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरुको संलग्नता रहेको पुष्टि भएको हो ।

सामुदायिक वनबाट काठ तस्करी गर्दै अबैध रुपमा तनहुँ र कास्की तर्फ लैजाने क्रममा टक्सार कोपानीबाट लेखनाथ च्वाई समेत २ जनालाई पक्राउ गरेपछि समितिको संलग्नता खुलेको हो । डिभिजन वन कार्यालयले पक्राउ परेकासँग अनुसन्धान गरेपछि काठ तस्करीमा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष पदमबहादुर बोहोरा, उपाध्यक्ष अन्जना सुबेदी, सचिव नेत्रबहादुर कार्की र कोषाध्यक्ष शोभा कार्की समेत समितिका अन्य सदस्य गरि १२ जना बिरुद्ध जिल्ला अदालत स्याङ्जामा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।

वन ऐन, २०७६ को दफा ४९ को (च) बमोजिम राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार चोरी निकासी कसुर बमोजिमको मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयबाट खटिएका अनुुसन्धान अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । दायर गरिएको मुद्दामा उनीहरुलाई ६ महिना कैद र पक्राउ परेको काठको बिगो बराबरको प्रतिव्यक्ति ५८ हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लेखनाथ च्वाईको ट्याक्टरमा काठ अबैध रुपमा निकासी गरेको भेटेपछि उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका च्वाईसँग साल जातको ३१ थान चिरान फेला परेको थियो । च्वाईसँग वन कार्यालयले गरेको अनुसन्धानपछि जिल्लामै पहिलो पटक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको काठ चोरी पैठारीमा संलग्नता भेटिएको हो ।

पक्राउ परेका समितिका पदाधिकारी र सदस्यहरु विगत लामो समयदेखि वन पैदावारको चोरी पैठारीमा संलग्न रहेको बताईएको छ । स्थानीयका अनुसार हामीले भन्न नसकेर हो, उनीहरु वन पैदावारको नियमित अबैध पैठारी गर्दै आएका थिए ।  उक्त वनबाट स्याङ्जा तर्फको तुलनामा कास्की र तनहुँ तर्फ चोरी पैठारी गर्न भौगोलिक बनावटले सहज देखिन्छ । प्रहरीले केही दिन अगाडी चापाकोटमा पनि काठ तस्करी गर्ने पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्