प्रवासी नेपालीहरुद्वारा सोती घटनाका पीडित परिवारलाई आर्थिक सहयोग



न्युज अफ नेपाल,जाजरकोट ।

साँफेबगर नगरपालिका–३ अछाम घरभई हाल भारतको पुणेमा बस्दै आएका प्रवासी नेपालीहरुले रुकुमपश्चिम सोती घटनामा हत्या गरिएका नवराज विकसहित ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेका छन् । सिद्धेश्वर प्रगतिशील समाजमार्फत पुणे र नेपालमा विभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट प्रतिपरिवार १२ हजारका दरले एकमुष्ट ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको अभियान्ता जयसिंह आउजीले बताउनुभयो ।

सो रकम मंगलबार जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीको रोहबरमा मृतकका परिवारलाई हस्तान्तरण गरिएको उत्पीडित युवा समाज रुकुमपश्चिम चौरजहारीका अध्यक्ष गणेश महरले जानकारी दिनुभयो । सिद्धेश्वर प्रगतिशील समाजले केही दिनअघि अछामको बयालपाटा हस्पिटलले जागिरबाट निकालेपछि पट्रोल छर्केर आत्मदाह गरेका सिद्धार्थ आउजीका परिवारलाई १५ हजार आर्थिक सहयोग गरेको थियो ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८, सोतीमा गत जेठ १० गते अन्तरजातीय प्रेम विवाह गर्न गएका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो भने अछामका सिद्धार्थ आउजीले जागिरबाट निकालिएपछि शरिरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्