प्यूठानमा सलह : आकाशमा ढपक्कै, मकैमा छपक्कै,किसान चिन्तित



सलिम अन्सारी,प्यूठान।

प्यूठानको सरुमारानी गाउँपालिका वडा नंवर ३ मा सलह कीराले बाली नष्ट गर्न थालेको छ । शनिबार नेपाल पसेको सलहले वडाका विभिन्न गाउँमा लगाएको खाधान्न बालीमा नोक्सानी पुर्याएको वडाअध्यक्ष भिम बहादुर मर्साङ्गीले बताए ।

‘आकासै ढाक्ने गरि ठूलो संख्यामा सलह देखिएको छ।’ उनले भने,’सलह भगाउन स्थानियहरुले थाल,टिन बजाईरहेका छन ।’ विनाशकारी सलहले सरुमारानी गाउँपालिका–३ को दुमही लगायत टोलमा मकै बाली नष्ट गर्न थालेको हो ।

मकैका बोट ढल्ने गरी सलह छपक्कै बसेको स्थानियले सुनाए। गाउपालिकाकी कृषि शाखा प्रमुख चम्पा पाण्डेले पनि सरुमारानिको १,२ र ३ नंवर वडामा हुलका हुल सलह देखिएको बताईन। नोक्सानीको एकिन तथ्याकँ संकलन भईरहेको उनको भनाई छ।

तराईका जिल्ला हुँदै ठुलो संख्याका आइपुगेका सलह मकै बारीसँगैं कलिला पालुवा आएका रुख तथा घाँसमा समेत फैलिएको छ । सो गाउँमा मकै भर्खर पसाउन लागेको थियो।स्थानीय टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडीरहेका छन् ।

बाली भित्र्याउने बेलामा कीराले नष्ट गरेपछि स्थानीय किसान मर्कामा परेका छन् । आईतबार सरुमारानि क्षेत्रमा पहिलोपटक देखिएको यो सलह अहिले जिल्ला भर फैलिएको छ ।

क्षतिको मुल्याकंन गरि किसानहरुलाई राहतका कार्यक्रम ल्याउन किसानले सरकारसँग आग्रह गरेका छन् । ५ नम्बर प्रदेश सरकारले सलह किरा ल्याउनेलाई एक किलाको २० रुपैयाँ दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्