ढुंगाले हानेर साथीको हत्या गर्ने पक्राउ



पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरमा आपसी झगडा हुँदा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् ।सिन्धुली जिल्लाको तीनपाटा गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका ४ गहिटी क्षेत्रमा मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले आपसी विवादका क्रममा साथी कृष्ण तामाङ (जडिबुटी)को हत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले आपसी विवाद हुँदा इन्द्रबहादुरले कृष्णको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । आज बिहान गहिटीस्थित सार्वजनिक पाटीमा कृष्ण मृत अवस्थामा फेला परेका थिए । अन्दाजी ४५ वर्षका कृष्णको ठेगाना खुलेको छैन ।

मृतक कृष्णको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेको प्रबक्ता गिरीको भनाई छ । उनलाई पक्राउ गरी परिसरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्