रोलिंग स्टोन्स ब्यान्डद्वारा ट्रम्पलाई कारवाहीको चेतावनी



वासिंगटन,(एजेन्सी) ।

चर्चित संगीत समुह दि रोलिंग स्टोन्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव प्रचार प्रसार र्‍यालीमा आफुहरुका गीतको प्रयोग नगर्न चेतावनी दिँदै नत्र उनी विरुद्ध कानुनी कारवाही अघि बढाइने बताएको छ ।

ब्यान्डको कानुनी टोलिबाट जारी भएको एक विज्ञप्तिमा आफुहरु कला प्रस्तुती अधिकार संगठनसंग आफ्ना गीत संगीत अनाधिकृत रुपमा प्रयोग हुनबाट रोक्न सहकार्य भइरहेको बताएको छ ।

गत सप्ताहान्त ओक्लोहामाको टुल्सामा आयोजित चुनावी र्‍यालीमा ट्रम्प अभियानले द रोलिंग स्टोन्सको ‘ यु कान्ट अल्वेज गेट व्हाट यु वान्ट एट लास्ट ’ बोलको गीत प्रयोग गरेको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावको दौरान पनि ट्रम्प अभियानले यहि गीत प्रयोग गरेको थियो । त्यतिवेला पनि ब्यान्डले ट्विट गरेर आफुहरुले ट्रम्पको समर्थन नगर्ने स्पष्ट पारेको थियो । गत अप्रिलमा मात्र रोलिंग स्टोन्सका ७६ वर्षिय गायक तथा फ्रन्टम्यान मिक ज्यागरले आठ वर्षपछि पहिलो नयाँ गीत ‘ लिभिंग इन अ गोस्ट टाउन ’ रिलिज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्