चाँगुनारायण नगरपालिकाद्वारा बृहत् वृक्षारोपण अभियान सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले वनलाई बिकास ,समृद्धि र स्थानीयको जीवनस्तर उकास्ने सन्दर्भमा जोड्ने अबधारणा अन्तर्गत बृहत् वृक्षारोपण अभियान संचालन गरेको छ ।

नगरपालिका र चाँगुनारायण क्षेत्रभित्रका बिभिन्न सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

वनलाई स्थानीयको बिकास र समृद्धिसँग जोड्ने अभियानका साथ सुरु गरिएको वृक्षारोपण अन्तर्गत ५० हजार बिभिन्न आयमुलक प्रजातिका बिरुवा रोपिएको नगरप्रमुख सोम मिश्रले बताउनुभयो ।

डिभीजन बन कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा गरिएको वृक्षारोपणका लागि रु ३३ लाख बराबरको बिरुवा खरिद गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

कबुलियत अवधारणा अन्तर्गत गंगादेबी सामुदायिक वन वडा नम्बर ६,कालिका वन सामुदायिक वन उपभोत्ता समिति वडा नं ६ र बहाल सामुदायिक वन उपभोक्ता समिति वडा नं.८ मा बृक्षारोपण अभियान संचालन भैरहेको छ ।

रोपिएका बिरुवाबाट हुने सम्पूर्ण आम्दानीको ५ प्रतिशत उपभोक्ता समुहलाई, १० प्रतिशत नगरपालिकालाई बुझाई बाँकी आम्दानी सम्बन्धित ब्यक्ति वा समुहले लिने ब्यबस्था गरिएको छ ।

अन्य समुहमा भने १० प्रतिशत नगरपालिकालाई बुझाएर बाँकी समुहलाई आम्दानी हुने गरी बृक्षारोपणको अवधारणा ल्याईएको नगरपालिकाले जनाएको छ ।

यसरी प्रत्यक्ष लाभ ब्यक्ति र समुहसँग जोडिने भएकाले बृक्षारोपण अभियानले सार्थक रुप लिई वन जोगाउने अभियानमा टेवा पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिबी तिमिल्सिनाले बताउनुभयो ।

सो अभियान अन्तर्गत कागती,टिमुर,तेजपात,अम्रिसो,एभोकार्डो,लोठसल्ला लगायतका आयमुलक प्रजातिका बिरुवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले बताउनुभयो ।यसैगरी नगरस्थित बिभिन्न सामुदायिक बनमा थप ५ हजार लाली गुराँस ,जडीबुटी र फलफुलका बिरुवा लगाउने तैयारी भैरहेको प्रमुख मिश्रले बताउनुभयो ।

गंगादेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धन बहादुर तामाङ्गले १८ देखि २० जना सम्म स्थानीयको समुहमा १२ वटा ब्लक बनाएर दुई दिनदेखि बृक्षारोपण गरिरहेको बताउनुभयो ।

वनलाई परिवर्तीत जीवनयापनका सन्दर्भमा स्थानीयलाई काठ ,दाउरा भन्दा आम्दानी र जीवनस्तर उकास्ने गरी उनीहरुमा वनप्रति अपनत्व जगाउँदै जान नगरपालिकाको यो अभियानले टेवा पुग्ने अध्यक्ष तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्