प्रधानमन्त्री शाहले भेटे भारतीय विदेश सचिव मिश्री

भारत भ्रमणको पृष्ठभूमि तयार गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राखेर बुधवार नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीको दुई दिने भ्रमणमा द्विपक्षीय सहकार्यका सम्भावित उपलब्धि र नयाँ पहलका विषयमा छलफल भएको छ । भारतीय विदेश सचिवको भ्रमणको क्रममा दुई देशले व्यापार, ऊर्जा, जलविद्युत् र पूर्वाधारसँगै स्टार्टअप, डिजिटल कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (एआई) तथा खेलकुदमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । परम्परागत सहकार्यका क्षेत्रसँगै स्टार्टअप, डिजिटल कनेक्टिभिटी, एआई र खेलकुदलाई सहयोगका नयाँ क्षेत्रका रूपमा पहिचान गरिनुलाई भ्रमणको महत्वपूर्ण पक्ष मानिएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले प्रधानमन्त्री शाहसँग बिहीवार शिष्टाचार भेट गर्नुभएको थियो। भेटमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा भइरहेको प्रगति र सहकार्यबारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री शाहले भारतसँग खेलकुद विकासमा कसरी सहकार्य गर्न सकिन्छ ? भन्ने चासो राख्नुभएको थियो। भेटमा प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणका सन्दर्भमा सम्भावित उपलब्धि र अघि बढाउन सकिने नयाँ पहलका विषयमा पनि छलफल भएको भ्रमणपछि बिहीवार जारी गरिएको ६ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री शाहले भेट नदिने भएपछि रद्द भएको चर्चा कुटनीतिक वृत्तमा अझै सेलाएको छैन। त्यतिबेला प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्विकार गर्नुभएको बताइन्छ ।

यसैगरी, बिहीवार मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गर्नुभएको थियो। भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्ध, विकास तथा आर्थिक कूटनीति र आगामी उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
दुई देशबीचको नियमित उच्चस्तरीय कूटनीतिक आदानप्रदानको निरन्तरताका रूपमा रहेको मिश्रीको भ्रमणले प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणका लागि राजनीतिक तथा कूटनीतिक संवादलाई अघि बढाएको छ।

भ्रमणको पहिलो दिन बुधवार मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र दोस्रो दिन बिहीवार भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। त्यसैगरी मिश्रीले नेपाल–भारत संसदीय मैत्री समूहका सदस्य तथा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सांसदहरूसँग पनि अन्तरक्रिया गर्नुभएको थियो।

बुधवार नै भएको दुई देशका परराष्ट्र सचिवबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा जारी सहकार्यको समीक्षा गरिएको थियो। पारस्परिक लाभका आधारमा यी क्षेत्रको साझेदारी थप सुदृढ गर्ने उपायबारे पनि छलफल भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ। वार्तामा नेपालले रसुवा–भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको शीघ्र तथा उल्लेखनीय मानवीय र प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेको थियो।