सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका, आरोही इन्टरप्राइजेजका थप दुई ट्रक पनि शंकाको घेरामा


काठमाडौं । 

वीरगन्ज भन्सारबाट सुन्तलाको प्रज्ञापनपत्रमा केरा ढुवानी भएको आशंकामा भन्सार जाँचपास प्रणालीमाथि प्रश्न उठेको छ। काठमाडौंको जडीबुटीमा प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको ट्रकमा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा फेला परेको प्रारम्भिक विवरण छ।

आरोही इन्टरप्राइजेज, वीरगन्ज–२५ श्रीसियाको नाममा जाँचपास भएको UP 25 FT 3659 नम्बरको उक्त ट्रकमा सुन्तलाको कागजात देखाएर केरा समेत ढुवानी गरिएको आशंका गरिएको छ।

यसै प्रकरणमा सोही कम्पनीसँग सम्बन्धित थप दुई भारतीय ट्रक (MH30CE0083 र UK04CC2831) पनि वीरगन्ज भन्सार परिसरमा रोकिएको स्रोतले जनाएको छ। ती ट्रकले भन्सार जाँचपास र गेटपाससमेत प्राप्त गरिसकेको बताइएको छ।

ती ट्रकमा पनि केरा तथा अन्य फलफूल रहेको र वास्तविक तौलभन्दा कम तौल देखाइएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले नियन्त्रणमा लिएको ट्रकबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट समेत अनुसन्धान अघि बढाइएको छ।

भन्सार कागजातमा उल्लेख भएको वस्तुभन्दा फरक सामान कसरी जाँचपास भयो र थप दुई ट्रकले कसरी गेटपास पाए भन्ने विषय अहिले अनुसन्धानको चासो बनेको छ। घटनामा व्यवसायी तथा भन्सार प्रक्रियामा संलग्न कर्मचारीको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।