म्याग्दीका चारजना कोरोना जितेर घर फर्किए, दुईजना थपिएसँगै जिल्लामा संक्रमितको संख्या १६ पुग्यो



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीका थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आइतबार घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार जना आईसोलेसनबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर्षीय पुरुष, मालिका गाउँपालिका–३, रुमका ३० वर्षीय पुरुष, मंगला–५, अर्मनका २० वर्षीय पुरुष तथा रघुगंगा–२, राखुभगवतीको ३० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।

तीमध्ये मालिका–३, रुमका ३० वर्षीय युवा दुबई र अरु तीनजना गत जेठ महिनामा ईन्डियाबाट म्याग्दी आएर क्वारेन्टाइन र त्यसपछि आइसोलेसनमा बसेका थिए ।डिस्चार्ज भएका चार जनामध्ये ३० वर्षीया महिलाको ९ वर्षीया छोरीमा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएसँगै उनी भने आईसोलेसनमै रहेको जनाइएको छ ।

कोरोना जितेकाहरुलाई आइतबारै खुलामन्चमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । उनीहरुलाई बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले खादा लगाई विदाई गरेका थिएभने आईसोलेसन कक्षको ड्युटीमा खटिएका डाक्टरले डिस्चार्ज पेपर दिएका थिए ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारी, कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरस (कोभिड–१९)लाई जितेर विदाई भएकाहरुलाई निमित्त कार्यालय प्रमुख लम्सालले घरमा गएर पनि कम्तीमा एक हप्तासम्म होम क्वारेन्टाइन बस्न तथा सुरक्षा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

उनले समुदायस्तरमा समेत कोरोना विरुद्धको सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै त्यस कार्यमा उनीहरुलाई पनि लाग्न आग्रह गरेका थिए । कोरोनाको संक्रमण हुनबाट बच्नका लागि भौतिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्न तथा साबुनपानीले राम्रोसँग हात धुन आग्रह गरिएको छ ।

यसैबीच पछिल्लो तथ्याङ्कअनुसार आइतबार नै म्याग्दीका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कुबेतबाट गएको असार ३ गते म्याग्दी आएकी धवलागिरी गाउँपालिका–६, मराङको ४० वर्षीया र ओमानबाट आएकी बेनी नगरपालिका–३, भकिम्लीको ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए ।

म्याग्दीबाट हालसम्म २ सय ८६ ओटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा २ सय ८२ ओटाको नतिजा आइसकेको छ भने चारवटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये २ सय ६२ ओटा रिपोर्ट नेगेटिभ आएकोमा संक्रमित व्यक्तिको दोस्रो, तेस्रो नमुनासहित २० वटा रिपोर्ट पोजिटिभ आएको हो । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेकोमा ११ जना पुरुष र ५ जना महिला रहेका छन् । तीमध्ये अहिले आइसोलेसनमा १० जना बिरामी रहेका छन्भने ६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्