रक्सी: कसले कसलाई पिउने हो ?



डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ) ।

रक्सी धेरै नै प्रयोगमा आएको पेयपदार्थ हो । यसलाई चाडपर्व, उत्सव, सुख–दुःख, छुट्टी, जमघट, रमझम आदि जस्तोसुकै परिस्थितिमा पनि पिउने गरिन्छ । कतिपय देशमा पानीको सट्टा रक्सी पिउने गर्छन् । रक्सीको सेवन राम्रो होइन भन्ने सबैलाई थाहा छ । यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने पनि थाहा छ । तैपनि रक्सीको सेवन यत्रतत्र सर्वत्र भैराखेको छ ।

रक्सीले स्वास्थ्यमा पार्ने असरबारे विवाद छ, अनुसन्धानहरु र वैज्ञानिक धारणाहरु पनि विवादास्पद । कसैले थोरै पिउँदा राम्रो, धेरै पिउँदा नराम्रो भन्छन् । कसैले पिउनु हुँदै हुँदैन भन्छन् । दुइ पेगले मुटु बलियो बनाउँछ भनेर दैनिक दुई पेग पिउनेहरु पनि धेरै छन् । दिनदिनै थोरै पिए धेरै बाँचिन्छ भनी शताब्दी पुरुष सत्यमोहन जोशीको उदाहरण दिनेहरु पनि छन् । पिउँदै नपिईकन पनि सय वर्षभन्दा बढी बाँच्न सकिन्छ भनी राष्ट्रकवि माधवप्रसाद घिमिरेको उदाहरण दिनेहरु पनि यहीँ छन् ।

रक्सी भनेको ह्विस्की, भोड्कालाई मात्र मान्नेहरु पनि धेरै छन् । रक्सी पिउने बानी छैन तर बियर र वाइन पिउने गर्छु भन्नेहरु पनि धेरै भेटिन्छन् । रक्सी पिएर जीवन बरबाद गर्नेहरु पनि छन्, खुशीसाथ बाँच्नेहरु पनि ।

रक्सी नपिएको सबैभन्दा राम्रो हो । पिउनै पर्ने भए १–२ युनिटभन्दा बढी नपिएको राम्रो

रक्सीबारे नयाँ कुरा के छ त रु यसबारे वैज्ञानिक तथ्यहरु र आफ्ना केही अवधारणाहरु यहाँ पोख्दै छु ।

रक्सी भनेको अल्कोहल हो । वाइन, बियर, भोड्का, ह्विस्की, जीन, जाँड आदि नशालु पेयपदार्थ हुन् । जसमा रक्सी याने अल्कोहल हुन्छ । रक्सीलाई युनिटमा नापिन्छ । भोड्का, ह्विस्कीमा ४० प्रतिशत रक्सी हुन्छ । यसको ३० मिलिलिटर बराबर १ युनिट हुन्छ । यस्तै प्रकारले १२ प्रतिशत रक्सी भएको वाइनको १ सय एमएल र ४ प्रतिशत रक्सी भएको बियरको २२० एमएल बराबर १ युनिट हुन्छ । युनिटमा नाप्ने र युनिटमा कुरा गर्‍यो भने रक्सीले स्वास्थ्यमा पार्ने असरबारे बुझ्न झन् सजिलो हुन्छ । १ युनिट रक्सीलाई कलेजोले २ घण्टा लगाएर पचाउँछ तर सासमा यसको असर २४ घण्टासम्म रहिरहन्छ ।

ट्राफिकले ब्रिथलाइजर उपकरणमा फू गर्न लगाएर रक्सी पिएको कुरा पत्ता लगाउँछन् । थोरै रक्सी (२ युनिट) ले मुटु बलियो बनाउँछ, हृदयघातबाट बचाउँछ भन्ने कुरा पहिले–पहिले भएका केही अनुसन्धानबाट प्राप्त तथ्यहरु हुन् । अहिलेसम्म पनि यो तथ्य पश्चिमी मेडिकल पाठ्यपुस्तकहरुमा परिवर्तन भएका छैनन् । रक्सी पिउँदा थोरै पिउनु भन्ने लेखेको छ तर पिउँदै नपिउनु भनेर लेखेको छैन । हामी पनि यही तथ्यमा आधारित भएर सल्लाह दिने गर्छौं । तर बुझ्नुपर्ने कुरा के छ भने हृदयघातबाहेक मुटुका अन्य धेरै प्रकारका रोगहरु छन्, जसलाई थोरै रक्सीले पनि बेफाइदा गर्छ ।

यसबाहेक कलेजो, पाचनग्रन्थी, पित्तथैली, पेट, आन्द्रा आदि सबैलाई थोरै रक्सीले पनि हानि गर्छ । रक्सीको थोरै मात्राले पनि क्यान्सर रोग लाग्ने सम्भावनालाई बढाउँछ । यसको मतलब समग्र स्वास्थ्यमा १–२ युनिट रक्सीले पनि हानि पु¥याउँछ । रक्सीको मात्रा जति–जति बढ्दै जान्छ हानि हुने मात्रा पनि त्यति नै बढ्दै जान्छ । यो कुरा १ वर्षअगाडि गरिएको ठूलो वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरेको छ । नयाँ–नयाँ अनुसन्धानहरु हुँदै जान्छन् । नतिजाहरु पनि फरक–फरक आउँदै गर्छन् । हामीले रक्सीका बारे पनि फरक–फरक कुरा सुन्दै जान्छौं । रक्सी र स्वास्थ्यका बारेमा विवाद अझै सकिएको छैन । पिएर धेरै बाँच्नेहरु पनि छन्, नपिएर चाँडै मर्नेहरु पनि छन् ।

पाठकहरुलाई मेरो सल्लाह छ– रक्सी नपिएको सबैभन्दा राम्रो हो । पिउनै पर्ने भए १–२ युनिटभन्दा बढी नपिएको राम्रो । यो भन्दा बढी पिउने हो भने भगवान्लाई सम्झेको राम्रो, किनकि उनैले निर्धारण गर्नेछन् रक्सी तपाईंले पिउने हो वा रक्सीले तपाईंलाई पिउने हो ।

प्रतिक्रिया दिनुहोस्