बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना


ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ । भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उहाँको ३३ औँ जन्मदिन मनाइरहेका समय बुधबार

स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको बताउने गरिएको छ ।

क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १.१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताउनुभयो । महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको उहाँले बताउनुभयो ।

“उनीहरूले साँझमा घरबाहिर (क्याफे)मा भेला भई सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिवाना गरिएको हो,” हुसेनले एएफपीलाई बताउनुभयो । बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमश सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ ।

बङ्गलादेशमा बिहीबारसम्म कोरोना भाइरस सङ्क्रमित एक हजार ५८२ जनाको मृत्यु भएको छ भने एक लाख २२ हजार व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ । तर स्वास्थ्यविद्हरूले बङ्गलादेशममा पर्याप्त कोभिड–१९ परीक्षण नभएको भन्दै कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या योभन्दा अत्यधिक बढी रहेको बताइएको छ ।

बङ्गलादेशमा फुटबल निकै लोकप्रिय खेल मानिने गर्छ । तर राष्ट्रिय टोली तथा खेलाडीहरूले विश्वव्यापीरूपमा व्यवसायिक खेलहरूमा खासै स्थान लिन नसक्दा यहाँका खेलप्रेमीहरूले आफ्नो समर्थन र माया विदेशी समूह वा खेलाडीलाई दिने गर्छन् ।

मेसीको जन्मदिनको पार्टी गरिएको ‘वल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिवाना तिर्नुपरेको स्वीकार गर्दै यो बङ्गलादेशी फुटबल फ्यानका लागि सहयोग भउको बताउनुभयो । युवाहरूले मेसीको जन्म दिनको खुशियाली मनाइरहेका समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।