अमेरिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेट्टिए



न्युज अफ नेपाल, काठमाडौं ।
अमेरिकाको तीन राज्यमा एकैदिन ३४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेट्टिएको छ । ती नयाँ संक्रमितहरु मंगलबारमात्रै भेट्टिएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएको छ । तथ्यांकअनुसार एकैदिन ३४ हजार ७२० नयाँ संक्रमित भेट्टिएको हो ।

अमेरिकामा संक्रमित भेट्टिएको मध्ये यो अहिलेसम्मकै धेरै भएको बताईएको छ । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् ।

टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो साताको तुलनामा अमेरिकाका कम्तीमा २६ राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका २३ लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख २१ हजार ९६९ जनाको मृत्यु पनि भइसकेको छ ।जुलाई १८ सम्म अमेरिकामा कोरनो भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार देखि एक लाख ५० हजारसम्म पुग्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्