हल्दीबारी गाउँ सभामा तोडफोड



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँ सभामा तोडफोड भएको छ । सडक नामकरणको विषयमा उत्पन्न विवादमा लिएर नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका तोडफोड गरेका हुन् ।

सोही क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काँग्रेसका गाउँपालिका उपाध्यक्ष गङ्गाप्रसाद प्रसाईँ र काँग्रेसकै वडा नम्बर २ का अध्यक्ष भिमराज फ्याक रहेका छन् । तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले समेत टेबल तोडफोड गरेका थिए ।

साबिक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरू बिच विवाद सुरु भएको हो । सो सडकको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्व. दोणचार्य क्षेत्री राख्नु पर्ने बताउँदै आएकोमा नेपाली काँग्रेस र राप्रपाले स्व. केशवकुमार कन्द्ङवा राख्नु पर्ने अडान लिएका थिए ।

सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँ सभाबाटै नामकरण टुङ्गो लगाउनु पर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा सुरु भएको थियो । गाउँ सभा सुरु भए लगतै नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुत सकिएपछि काँग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रविन्द्र लिङदेनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङदेनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए । ज्ञापनपत्र नलिएको भन्दै नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरूले सभा बिथोल्दै एक्कासि तोडफोड उत्रिएका थिए । सोही क्रममा नेकपाका कार्यकर्ताले अध्यक्षमाथि आक्रमण गरेका थिए ।

सोही क्रममा दुवै पक्षबीच झड्प भएको हुन पुग्यो । गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए ।

राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँ सभा बहिष्कार गरेर हिँडेका हुन् । अध्यक्ष लिङदेनसहित वडा नम्बर ५ का वडा अध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडा अध्यक्ष होमप्रसाद चुडाल र अन्य तीन जना वडा सदस्य रहेका छन्

प्रतिक्रिया दिनुहोस्