दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सञ्चारमैत्री नीति तथा कार्यक्रम



रामधन राई,खोटाङ ।

दश स्थानीय तह रहेको खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सञ्चारमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकालाई यस आर्थिक वर्षबाट सूचना र सञ्चारको हकमा नमुनाका रुपमा स्थापित गर्ने लक्ष्यका साथ विभिन्न किसिमका सञ्चार नीति ल्याईएको उल्लेख छ ।

असार १० गते सम्पन्न गाउँ सभाले जिल्लामा क्रियाशील पत्रकार तथा स्थापित सञ्चार गृह अर्थात सञ्चार माध्यमहरुलाई समेत उद्दारवादी ढंगले सम्वोधन गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार महासंघको सदस्य भई २० वर्ष अगाडि देखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम ल्याएको छ । यस मापदण्डभित्र पर्ने पत्रकारलाई पालिकाले मासिक २ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ ।

यस्तै, जिल्ला भित्र क्रियाशील पत्रकारहरुलाई गम्भिर प्रकृतिको रोग लागेमो २० प्रतिशत उपचार खर्च उपलब्ध गराउने कार्यक्रम समेत बनाएको छ । गाउँपालिकाले नेपाल सरकारको मापदण्ड अनुरुप सञ्चालनमा आएका सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने , सूचनाको हक सम्बन्धी कानुन् कार्यान्वयनमा जोड दिने, गाउँ पालिकाका हरेक सूचना जनताको घरघरमा पु¥याउने कार्यक्रम पञ्स्तुत गरेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाभित्र सामुदायीक सम्वाद्दाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने जस्ता प्रेसमैत्री कार्यक्रम ल्याएका छन् । दिप्रुङ चुईचुम्माले जिल्लामा हालसम्मकै सवैभन्दा सञ्चारमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेको सञ्चारकर्मीहरुको प्रतिक्रिया छ ।

यस्तै, गाउँपालिकाले यो आर्थिक बर्षभित्र काभिड–१९ को संक्रमणको असरलाई न्युनिकरण गर्दै जनजीवनलाई नियमित गर्नु, कोरोनाको असरबाट सिर्जित आवश्यकताको पहिचान गर्नु, गाउँपालिकालाई कोरोनारहित गाउँपालिका बनाउनु, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि उत्पादन, र रोजगारी प्रर्वद्धन गर्नु जस्ता विषयलाई प्रमुख प्राथामिकताका राखेको छ । पालिकाले कुल ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसाको प्रस्तावित बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्