कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मी संक्रमित,आकस्मिक बाहेकका सेवा बन्द



भगवती तिमल्सिना,काठमाडौँ ।

कोरोना संक्रमणका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा प्रभावित भएका छन् । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताउनुभयो ।

प्रतिष्ठानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार विभिन्न विभागमा काम गर्ने फरक फरक समूह बनाईएको र समूहगत डिउटी सिफ्ट हुनु अघि पिसिआर परिक्षण गरिने हुँदा परिक्षणकै क्रममा चार जनामा कोरोना संक्रमण देखिएको डा.थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ—काम गर्ने तवर तरिका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको निर्देशन बमोजिम एक साता एउटा समूहलाई आवासीय डिउटी तोकिएको छ ।

डिउटी सकेर घरजानु अघि पिसिआर परिक्षण गरि रिपोर्ट आएपछि मात्र जान पाइन्छ । उहाँहरुको पनि डिउटी सकीएकाले परिक्षण गर्दा पोजेटिभ आएको हो ।डा थापाका अनुसार प्रतिष्ठानमा १ सय २० बेडको आईसोलेसन वार्ड रहेको र २६ जना कोरोना संक्रमण पुष्टि भएका संक्रमितको उपचार भएकोमा २४ जना डिस्चार्ज भैसकेका र २ जना अझै आईसोलेसन वार्डमा उपचाररत छन् ।

४ जना स्वास्थ्यकर्मी,कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि अन्य स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षण अवधिका लागि आकस्मिक बाहेकका सेवा स्थगित गरिएको छ । पिसिआर परिक्षणका साथै प्रतिष्ठान तथा अस्पताललाई निसंक्रमण कार्य जारी रहेको छ ।

डा.थापा भन्नुहुन्छ—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत ३ सय ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत रहेका छन् । बुधबार र विहिवार ओपिडि बन्द गरी सबै कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीको पिसिआर परिक्षण गरेर र रिपोर्ट आएपछि योजना बनाउँछौ । पोजेटिभ आउँने कर्मचारी आईसोलेसनको सम्पर्कमा पनि थिएनन् । कसरी फैलियो खोजीकै बिषय बन्यो ।

प्रतिक्रिया दिनुहोस्