सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रम : रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता



दिलकुमार लिम्बू,ताप्लेजुङ ।

सिरिजघा गाउँपालिकाको निति तथा कार्यक्रममा रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर वजेट प्रस्तुत गरेको छ । स्थानीयस्तरमा रोजगारी सृजना गरि गरिबी न्युनिकरण गर्ने उद्धेश्यले “अध्यक्ष रोजगार कार्यक्रम” सञ्चालनमा ल्याईने भएको छ ।

यस कार्यक्रम अन्र्तगत गाउँपालिका क्षेत्र भित्र जनसहभागिता परिचालन मार्फत सञ्चालन गरिने आयोजनाको लागत अनुमान तयारीकै बखत कम्तीमा ५० प्रतिशत स्थानीय श्रम मात्र प्रयोग हुने गरि आयोजनाको लागत अनुमान तयारी गर्ने व्यवस्था मिलाईने छ । जसले रोजगारीको अवसर प्रदान गरि गरिबी न्युनिकरणमा ठुलो मद्धत पुग्ने गाउँपालिकाको विस्वास छ ।

यस्तै कृषि उपजमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँन र कृषकको आयआर्जनमा वृद्धि गर्न सिरिजंघाको सान, उद्यमशिल किसान नामक कार्यक्रम सञ्चालनमा ल्याईने भएको छ । यसका लागि पालिका भित्रका सबै टोलमा त्यहाँको भुगोल, हावापानी पहिचान गरि सुहाँउदो कृषि जन्य उत्पादनमा जोड दिईने छ भने ति उत्पादनको बजारीकरणका लागि पालिकाको केन्द्र तेल्लोक स्थित हेलिप्याडमा प्रत्येक हप्ता कृषि बजारको आयोजना गर्ने बातावरण मिलाईने छ ।

यस्तै पालिका भित्र पर्र्ने कचन्जघा पालिकाको गौरवको क्षेत्रको रुपमा स्थापित गरिएको र यस हिमशिखरको पर्यटन रोयल्टी बाँडफाँड बापत प्राप्त हुने सम्पुण रकम गाउँपालिकालाई उपलब्ध गराईदिन नेपाल सरकारलाई अनुरोध तथा जोडदार माग गरिने भएको छ ।

कोभिड १९ का कारण वैदेशिक रोजगारबाट फर्किएकालाई लक्षित गरि स्थानीय स्तरमा नै उद्यमशिल गराउन गाउँमै रोजगार, गर्वको आधार नामक कार्यत्रम बनाई प्रत्येक वडामा ५ लाख रुपैँयाका दरले ८ वटै वडामा ४० लाख रुपैँया बराबरको रकम वडा स्तरमै रकम विनियोजन गरिने छ । यस्तै निशुल्क शिक्षा, हामी सबैको इच्छा नामक अभियानको थालनी समेत गरिने गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रम अन्र्तगत पालिका भित्र पर्ने हरेक सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाईने र पठनपाठनको नाममा शुल्क लिने विद्यालयलाई कारबाहीको दायरामा ल्याईने छ । स्थनीय लिम्बु समुदायको भाषा संरक्षणका लागि ईच्छुक विद्यार्थीलाई लक्षित गरि स्वीकृत कार्यविधि बमोजिम प्रत्येक वडा भित्रका सामुदायिक विद्यालय मार्फत भाषा र लीपि संरक्षण गर्ने कार्यक्रमलाई समावेश गरिने भएको छ ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि प्रत्येक वडामा ९ लाखका दरले ७२ लाख वडास्तरमै विनियोजन समेत हुने भएको छ । यस्तै मैले तिरेको कर गाउँपालिकाको भर अभियान समेत कार्यन्यनमा ल्याईने छ भने यस अभियान मार्फत सबै भन्दा बढि करदातालाई सम्मान गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यालयको काम अह्राएर मात्र होईन, मनपराएर पनि गर्ने संस्कारको विकास गरिने छ । यसका लागि उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कार्यालय माताहत, वडाका साथै सामुदायिक विद्यालयका कर्मचारीलाई छनौट गरि एक जना सर्वोत्कृष्ट र २ जना उत्कृष्टलाई सम्मान गरिने छ ।

सुचनाको हकलाई मध्येनजर गर्दै हरेक वडाको आआफ्नै वेवसाईट निर्माण गरि वडाका गतिविधि सो मार्फत सार्वजानिक गर्ने बातावरण बनाईने भएको छ ।पालिका भित्रका कक्षा १२ वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेका ईच्छुक युवाहरुलाई लक्षित गरि पत्रकारिता सम्बन्धि आधारभुत तालिम समेत दिईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाले पारित गरेका नीति तथा कार्यक्रमले पालिका भित्रको समग्र विकासमा योगदान दिने विस्वास गर्दै यसको प्रभावकारी कार्यन्वयन र पारदर्शितामा ध्यान दिन सरोकारवाला सबै पक्षलाई पालिका अध्यक्ष गुरुङले आग्रह गर्नुभयो । यसैबीच गाउँपालिकाको आगमी उद्धेश्य र प्राथमिकतालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७७/७८ का लागि ४३ करोड ६५ लाख बराबरको बजेट समेत प्रस्तुत गरिएको छ ।

पालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि तय गरेको बजेट, नीति तथा कार्यक्रमले पालिका भित्रका नागरिकको जीवनस्तर उकास्न साथै समग्र विकासमा सहयोग पुग्ने देखिएको गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्