क्वारेन्टाईनमा मनोपरामर्श र ब्यायाम



अमृत अर्याल,स्याङजा ।

पुतलीबजार नगरपालिका १ स्थित क्वारेन्टाईनमा बसेका युवायुवतीलाई मनोपरामर्श सेवाका साथै नियमित गर्ने ब्यायमको अभ्यास गराइएको छ । सुरक्षित आप्रवासन कार्यक्रम मार्फत क्वारेन्टाईन बसाईमा तनाव कम गराउने उदेश्यले मनोपरामर्श सहित ब्यायम अभ्यास गरिएको हो ।

मनोपरामर्श र ब्यायम अभ्यासपछि जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले दृढ आत्मबलले कोरोना जित्न सकिने बताउनुभयो । खानपान र ब्यवहार सकारात्मक हुनुपर्ने बताउदै नित्यकर्म गर्न सुन्दासले सुझाव दिनुभयो । साथै, क्वारेन्टाईनमा बस्नेहरुका गुनासालाई समेट्दै प्रमुख सुन्दासले क्वारेन्टाईनमा भएका अभावलाई सकेसम्म पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गण्डकी प्रदेश मनोसामाजिक सुपरभाइजर पूर्णशोभा महर्जनले मनोपरामर्शसंगै ब्यायाम सिकाउनुभएको थियो । क्वारेन्टाइनमा बस्ने मध्ये अधिकांश भारत, कोरिया, दुवईबाट गरी ८ महिला सहित ५१ जना रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिनुभयो ।

स्वीस सरकार र नेपाल सरकारको सहयोगमा अन्धाअन्धी सामुदायिक विकास केन्द्रले सुरक्षित आप्रवासन कार्यक्रम मार्फत गल्याङ र वालिङका क्वारेन्टाईनमा मनोपरामर्श लगायत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्