लमजुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



शिक्षा पन्त,लमजुङ ।

लमजुङमा बुधबार थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मध्यनेपाल नगरपालिकाका ४ जना र बेसीशहर नगरपालिकाका १ जना गरी ५ जनाको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएका मध्ये थप ५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार सुन्दरबजार नगरपालिका–७ लमजुङ क्याम्पसमा रहेको जिल्लास्तरीय क्वारेन्टाइनमा बस्दै आएका ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रिमत हुनेमा बेसीशहर नगरपालिका–१० का ३३ बर्षीया महिला, मध्यनेपाल नगरपालिकाका–८ का २१ बर्षीय र २२ बर्षीय, वडा नम्बर–९ का २४ बर्षीय र २ का ३७ बर्षीय पुरुष रहेको प्रशासनले जनाएको छ । उनीहरुको असार २ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको थियो ।

यसअघि लमजुङमा सोमबार एकैपटक १ महिला र ४ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । जसमध्ये बेसीशहर नगरपालिका–७ सहजीस्थित सहरी विकास कार्यालयको जिल्लास्तरीय क्वारेन्टाइनमा रहेका ३ जना र सुन्दरबजार नगरपालिका–७ लमजुङ क्याम्पसमा रहेको जिल्लास्तरीय क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा मध्यनेपाल नगरपालिका–४ का ४२ बर्षीय र ६ का २० बर्षीय पुरुष, क्व्होलासोंथर गाउँपालिका–९ का १७ बर्षीय पुरुष, बाराको कोहल्बीका ४१ बर्षीय पुरुष र बेसीशहर नगरपालिकाका–३ की २१ बर्षीया महिला रहेका छन् । उनीहरु ५ जना बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइशोलेशनमा रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्