बनेपामा लकडाउनमै चोरी भयो २१ तोला सुन



मोतीराम तिमल्सिना,काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर ९ घर भएकी ३२ बर्षिय जोसना श्रेष्ठको घरमा रहेको २१ तोला सुन चोरी भएको छ । सुन चोरी भएको अभियोगमा बनेपाबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त पहलमा सुन चोरी अभियोगमा बनेपा नगरपालिका वडा नम्वर ८ बस्ने ३६ बर्षिय राजु मानन्धर, भारत घर भई बनेपा ८ मा डेरा गरी बस्ने ३२ बर्षिया करुणा घिमीरे र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्वर ५ घर भई सोहि स्थानमा डेरा गरी बस्ने १९ बर्षिय श्रृजन आचार्यलाई १० तोला सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो ।

‘लकडाउनको अवधीमा भएका विभिन्न अपराधको अभियोगमा ब्यक्तिहरु पक्राउ गरी अनुसन्धान गरिरहेका छौं’–एसपी पौडेलले भन्नुभयो–‘जर्बजस्ति करणी, चोरी, जुवामा संलग्न ब्यक्तिहरु पक्राउ गरी मुद्दा चलाएका छौं । अपराध हुन नदिन र अपराधमा संलग्नलाई कारवाही गर्ने कुरामा प्रहरी चुक्ने छैन । अपराध नियन्त्रणमा कमी हुन दिने छैनौ ।’

असार ९ गते विहान ७ बजेको समयमा जोसनाको घरको दोश्रो तल्लाको कोठाको बक्स पलङको घराभित्र झोलामा रखेको सुन नदेखे पछि चोरी भएको थाहा भएको थियो । घर भित्र रहेको सुन फेला नपरेपछि चोरी भएको आशंकामा प्रहरीकोमा निवेदन दिए पछि अनुसन्धान शुरु गरी ब्यक्ति पक्राउ गरी सुन बरामद गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।

घटना विवरण अनुसार पक्राउ परेकी श्रृजना आचार्यले करुणा घिमीरेलाई लकडाउन अघि नै ५ लाख रुपैया सापटी दिएकी थिईन । श्रृजना जुसको मार्केटिङ्ग गर्दै आएकी थिईन भने करुणाको बनेपामा फेन्सी पसल छ । उनिहरु दुबै साथी हुन् ।

लकडाउन अवधीमा सापटी रकम फिर्ता गर्न नसके पछि डेड महिना अघि श्रृजनाले जोसना श्रेष्ठको घरमा सुन रहेको सूचनाका आधारमा चोरी गरी राजु मानन्धरलार्य दिईन् । बाँकी रहेको सुन बनेपामा रहेका विभिन्न पसलमा दिईन् । श्रृजना, करुणा र जोसना मिल्ने साथी हुन् । साथीले नै धोका दिएको जोसनाले असार ९ गते मात्रै थाहा पाईन् ।

श्रृजनाले सुन विक्री गरी पैसा लिएको देखेको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमै सुन चोरी गर्ने ब्यक्ति र १० तोला सुन बरामद गरेको हो । प्रहरी निरिक्षक तिमल्सिनाका अनुसार पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ । विल विनाको सुन खरिद गर्ने बनेपाका केहि ब्यवसायीहरुलाई प्रहरीले निगरानी गरी प्रारम्भिक बयान लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्