अन्नपूर्णको बजेट ६६ करोड १२ लाख रुपैयाँ



टंकराज अधिकारी, पोखरा ।

कास्ककिो अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाद्वारा आज यहाँ आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आ.व.२०७७/०७८ का लागि चालु तर्फ ४३ करोड २३ लाख १८ हजार रुपैयाँ र पूँजिगत तर्फ २२ करोड ८८ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिदै उत्पादन र उत्पादकत्व बृद्धिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको छ । उपाध्यक्ष गुरुङका अनुसार गाउँपालिकामा आ.व.२०७७/०७८ का लागि विषयगत समिति अन्तर्गत पूर्वाधार विकास तर्फ १६ करोड ५४ लाख, आर्थिक विकास तर्फ तीन करोड ४९ लाख, सामाजिक विकास तर्फ ३७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै बन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ एक करोड १३ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा  घोषणा गर्दै कृषिको आधुनिकीकरण एवम् व्यवसायिकरण गर्न प्रोत्साहित गरिने लगायतका नीति लिएको छ ।

गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवाहरुलाई अवसरको रूपमा उपयोग गर्दै  उनीहरुको अनुभव सिप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागि गराई रोजगारका अवसर सृजना गरिने नीति तथा कार्यक्रममा अघि सारेको थियो ।

बजेटमा गाउँपालिका भित्र पूर्वाधार विकास अन्तर्गत बाटो घाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै लक्षित बर्ग तथा सामूदायको सशक्तिकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्